लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सप्पन्न , लाभांश पारित

196
0
Share:

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा सेयरधनीहरुलाई विस्तृत रुपमा जानकारी गराए ।

सभामा विभिन्न सेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनीसँग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरे ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ.ब. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.३६७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको चुक्ता पूंजीको ६.९९ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव पारित गरियो ।

त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १००:८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण (DDA) बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० बर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरियो ।

कमेन्ट गर्नुहोस्