राज्यकोष दोहनमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ : प्रमुख आयुक्त

158
0
Share:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताएका छन् ।

आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरुपयोग बढेको उल्लेख गरे । पूर्वाधार निर्माणमा आवश्यकताको पहिचान नगरी अध्ययन, खरिद र ढिलासुस्ती गर्दा स्रोतको दुरुपयोग बढेको जिकिर गर्दै प्रमुख आयुक्त राईले भने, “राज्यकोषको दुरुपयोग र दोहन बढेको छ । यस्ता कार्यमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।”

विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, सम्भाव्यता अध्ययन वा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तर कार्यान्वयन नगर्ने पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइने उनले बताए । “सरकारी स्रातको हानिनोक्सानी तथा दुरुपयोगसम्बन्धी उजुरी बढेको छ । जलविद्युत्, उद्योग तथा वस्तु र सेवाको उत्पादन र परिवहनमा अनुमतिपत्रसम्बन्धी व्यवस्थामा एकाधिकार र कार्टेलिङबारे आयोगले निगरानी र छानबिन कगरिरहेको छ”, उनले भने ।

प्रमुख आयुक्त राईले प्राकृतिक स्रोत, खासगरी ढुङ्गा, गिट्टी र बालुवा जथाभावीरुपमा उत्खनन र दोहन गर्ने कार्य नियन्त्रण गर्न जरुरी रहेको बताए । प्राकृतिक स्रोतको व्यवस्थित र दिगो उपयोग आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले यी क्षेत्रमा हुने र भइरहने अनुचित दोहन, अनियमितता र मस्यौदा उपर आयोग निर्भिक तवरले लागि परेको बताए ।

कार्यक्रममा आयोगका आयुक्त किशोरकुमार सिलवालले सूचना सञ्जालीकरण र आधुनिक प्रविधिसँगै भ्रष्टाचारको स्वरुप, तौरतरिका र आयाममा परिवर्तन भएको बताए । उनले भने, “प्रविधिको विकाससँगै बदलिँदो भ्रष्टाचारको स्वरुप, तौरतरिका र आयाम तथा सीमाहीन अपराधका रुपमा विस्तार हुँदै गएको भ्रष्टाचार कुनै अमुक संस्था र राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय चासो र चुनौतीको विषय बन्न पुगेकाले नियन्त्रणमा साझा प्रतिबद्धता आवश्यक छ ।”

स्थापना दिवसका अवसरमा आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा योगदान पुर्‍याउने पत्रकार, लेखक, उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट अख्तियार कर्मचारीलाई पुरस्कृत गरेको थियो ।

कमेन्ट गर्नुहोस्