सत्तासमीकरणमा नयाँ भाडभैलो, गर या मरको अवस्थामा सरकार

83
0
Share:

काठमाडौं । सत्तासमीकरणमा नयाँ भाडभैलो देखा पर्दैछ। सरकारले भारी मात्रमा विश्वासको मत पाएबाट नै अविश्वासको वातावरण सुरु भएको हो। प्रमुख प्रतिपक्षि कांग्रेसले त अविश्वासको खेती गर्न र गराउन नै विश्वासको मत दिएको थियो। मन्त्रीमण्डल विस्तार नसकिँदै यसमा अनेकन छिद्रा पर्नसमेत थालेको छ। सत्ता साझेदार एउटा दल निकै अपरिपक्व हतारोसहित सरकारबाट बाहिरियो। प्रदेशमा समेत सुदूरपश्चिम सरकारले त आवश्यक विश्वासको मत पाएन।

नजिकिँदै गरेको राष्ट्रपतिको निर्वाचनका कारण राजनीतिक बेमेलता झन् मौलाउने देखिन्छ। दलहरू सकेसम्म आफ्नो दलको उम्मेदवारलाई राष्ट्रपति निर्वाचित गराउने दौडाहामा छन्। नसके पनि एकअर्कालाई रोक्ने उनीहरूको भित्रि आकांक्षा छ। निर्वतमान उपप्रधान तथा गृहमन्त्रीका ताजा प्रकरणले राजनीतिक पटाक्षेप झन् पेचिलो बन्दैछ। उनको अस्वाभाविक हठ र सत्ता आशक्तिले अनेकौं प्रश्नहरू जन्माएका छन्। अरूलाई निष्ठाको पाठ सिकाएको स्वांग पार्ने उनीमाथि कुरीकुरी भन्नेहरूको संख्याको ग्राफ बढ्दो छ। राजनीतिमा फरक माहोल निर्माणको संकेत देखिँदैछ।

फरक माहोल
यो सरकार बन्दाको परिस्थिति नै नयाँ थियो। तत्कालीन सामान्य आकलन र प्रक्षेपणभन्दा फरक भयो। आकस्मिक र एकाएक उच्च रफ्तारमा बन्यो। जतिले समर्थन गरे त्योभन्दा धेरैबाट विश्वासको मत आयो। सिद्घान्त, विचार तथा भावना केही नमिले पनि सत्ता, शक्तिको आशक्ति मिल्यो, स्वाद मिल्यो। नाम नमिले पनि दाम र काम मिल्ने देखियो, मिलिजुली सरकार बन्यो। मन्त्रिमण्डलमा अधिकांश नयाँ अनुहारहरूको आगमन भएको छ। केही हदसम्म सम्बन्धित क्षेत्रमा योग्यता, विज्ञता, दक्षता र अनुभवसमेत ध्यान दिइएको पनि देखिन्छ। यद्यपि दलित तथा कर्णालीको प्रतिनिधित्व नभएको गुनासा पनि सुनिन्छन्। तर, युवा, महिलाको सहभागिता हेर्दा यो सरकार अरू समयभन्दा बढी नै आस गर्न सकिने खालको आभास हुन्छ।

समृद्घ राष्ट्र निर्माण असहज छ, अप्ठ्यारो छ तर असम्भव छैन, असम्भव बन्न पनि दिनु हुँदैन। सबैखाले नेतृत्व र तमाम अनुहारका लागि यो अन्तिम अग्निपरीक्षा हो।

सत्तारुढ नेताहरूको सुरुआति ऊर्जा र जोशले नागरिकलाई रोमान्चित नै बनाएको देखिन्छ। सम्बन्धित दलका नेतृत्वबाट पनि सायद उच्च प्रतिफल दिने गरी काम गर्न सुझाइएको होला। स्थापित दलका नेतृत्वको पनि यो अन्तिम इनिङ हो। अधिकांश शीर्ष नेताहरू सम्भवतः अर्को पटक चुनावको मैदानमा हुने छैनन्। राजनीतिबाट सम्मानजनक बहिरगमन उनीहरूको समेत अभिरुचि देखिन्छ। केहीले त निर्वाचनकै बेला अन्तिम निर्वाचन भनेर घोषणा गरेका छन्। आपूmलाई उच्च पदस्थ बताउने कतिपय नेताले यसैपटक निर्वाचनको दौडाहामा खासै मन गरेनन्। निर्वाचनमा होमिएका थुप्रैको निराशाजनक हार भयो।

तसर्थ जितेर आएकालाई राम्रो र सम्झनलायक काम गर्नै पर्ने बाध्यताले सबैलाई गाँजेको छ। यो मौकामा पनि सकारात्मक छाप छाड्न नसके सामाजिक अस्वीकार्यताको समस्या आउन सक्छ। नयाँ र उदीयमान भएका दलले त राम्रो काम नगरे अर्को पटक नागरिक समर्थन रहन मुस्किल हुन्छ। पाँच वर्ष पहिले उदाएको विवेकशीलको नजिर र अहिलेको हरिबिजोग सबैलाई ज्ञात भएकै अवस्था हो। नयाँ पार्टीहरूलाई ‘इजी कम एन्ड इजी गो’को अवस्था विद्यमान छ। नागरिकलाई पनि धेरै पर्खने धैर्यता छैन। तसर्थ यो समय नयाँ तथा पुराना सबै खालका दल र नेतृत्वलाई अग्निपरीक्षाको उत्कर्ष हो। कसैलाई पनि कुनै बहानामा असफलताको सुविधा हुने छैन। अहिलेका राजनीतिमा देखिएका तमाम अनुहारहरू गर या मरको कठोर संघारमा उभिएका छन्।

कठोर संघार
आमनागरिकको लामो प्रतिक्षाको विषय देशको सम्रग विकास हो। आफ्नो÷आफ्नो क्षेत्र र ओहोदाबाट सबैले सकेको सकारात्मक योगदान निभाउनुपर्छ। हरेक क्षेत्रमा तात्विक परिवर्तन र सकारात्मक सुधार देखिनुपर्छ। अहिलेसम्म नागरिकले केवल धोखा र छलमात्र पाए। फलचाहिँ केही थान नेता र तीनका आसेपासेको बिर्ता बनेको विडम्बना अब फेरिनु पर्छ।

आजभोलि केन्द्रदेखि प्रदेशका विभिन्न मन्त्रीबाट निकै उत्साही तथा महत्वकांक्षी भाषणबाजी हुँदैछ। विख्यात दार्शनिक जिन बद्रिलार्ड आफ्नो पुस्तक ‘द सिमुलाक्रा एन्ड सिमुलेसन’मा लेख्छन्, ‘कल्पना नै हरेक सम्भावनाको सुरुआत र सबैभन्दा बलियो सत्य हो’। राइट दाजुभाइले पन्छी जस्तै मानिस पनि उडेको कल्पना नगरेको भए, प्राचीन पूर्वीय दर्शनमा वायुपंखी विमान अनि मधुमालतीका घोडाको कल्पना नभएको भए सायद आज हवाईविमान आविस्कार हुने थिएन। चन्द्रमामा मानिस पुर्‍याउने कल्पना नगरेको भए त्यो सम्भव थिएन। प्राचीन पूर्वीय धर्मग्रन्थमा विभिन्न हिसाबले आजका यन्त्रमानव र उच्च कृतिम बौद्घिकता भएका रोर्वटहरूको कल्पनासमेत भेटिन्छ। तसर्थ देश विकासको लागि पनि कल्पना चाहिन्छ, सोच चाहिन्छ।

कमेन्ट गर्नुहोस्