
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।
यसबाट साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्विन हुने भएका छन् । उनीहरुको उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर घटाएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सकारले आन्तरिक ऋण परिचालनको लागत उच्च भएपछि बैंकहरुले राष्ट्र बैंकबाट लिने तरलता सुविधाको ब्याजदर घटाएको छ ।
बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था अन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गर्ने केन्द्रिय बैंकले जनाएको छ ।