वडाले जग्गा लिजमा लिएर किसानलाई दिने

224
0
Share:

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरीब परिवारलाई लिजमा जग्गा दिने भएको छ । ६ महिनासम्म खाना नपुग्ने गरीब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई ५ कट्ठाका दरले जग्गा दिने भएको छ ।

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए । ‘हाम्रो वडामा अधिकांश खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ,’ उनले भने, ‘उहाँहरूको जीवन निर्वाहका लागि हामीले यो योजना अघि बढाएका हौं ।’

त्यसका लागि सूचना समेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरीब घरपरिवार तथा बेरोजगारको मूल्यांकन गरेर जग्गा दिने उनको भनाइ छ । ‘हामीले प्रत्येकलाई ५ कट्ठा जग्गा दिने छौं,’ अध्यक्ष रावतले भने, ‘त्योबापत कुनै रकम पनि लिइने छैन ।’

किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाइ छ ।

उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने उनले बताए । बीउ, मलमा पनि सहयोग गर्ने उनले बताए । त्यहाँ करीब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पुर्‍याउने तयारी छ । करीब ३० लाख रुपैयाँमा त्यहाँ जलाशय निर्माण गरिएको हो ।

वडाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । केही समय अघि उत्पादित कृषिजन्य वस्तु घोडामार्फत बजार लैजाने व्यवसायीलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस्तै भैंसीपालन व्यवसायीलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताए । व्यावसायिकरूपमा भैंसीपालन व्यवसाय गरेकालाई दानाका लागि सहयोग गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्