
अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो ।
आयोगले अपी पावरलाई आज (माघ १५ गते) पत्र पठाउँदै आयोगको गत माघ १० गते बसेको बैठकले अपी पावरलाई हकप्रदको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको जानकारी गराएको हो।
यसअघि कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको ४० प्रतिशत अर्थात १:०.४० को अनुपात हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।
जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने जनाएको छ।
कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्ने निर्णय बमोजिम हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति प्राप्त भएको हो ।
अब आगामी बस्ने कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।









