बाहिरियो पाँच पूर्व विश्व च्याम्पियन जर्मनी

171
0
Share:

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पाँच पूर्व च्याम्पियनले पहिलो चरणमै कम्तिमा एउटा हार ब्यहोरेका छन् । यीमध्ये जर्मनी दोस्रो चरण पुगेन ।

जर्मनीसहित फ्रान्स, स्पेन, अर्जेन्टिना र उरुग्वेले पहिलो चरणमै हार ब्यहारेका हुन् । स्पेन र फ्रान्स समुहगत चरणको अन्तिम खेलमा पराजित भए । तरपनि यी दुवै टोली अगाडि बढेका छन् । पहिलो खेलमा पराजित भएको अर्जेन्टिना पनि अगाडि बढिसकेको छ । उरुग्वेले समूहमा अन्तिम खेल खेल्न बाँकी छ ।

विश्वकप इतिहासमा हालसम्म ८ टोलीले उपाधि जितेका छन् । तीमध्ये चारपटकको विजेता इटाली यसपटक छनोट भएको थिएन । इंल्यान्ड दुई जित र एक बराबरीको नतिजासहित अपराजित रहेर दोस्रो चरण पुगिसकेको छ । सुरुका दुई खेल जितेर अगाडि बढ्ने पक्का गरेको ब्राजिलले समूहमा अन्तिम खेल खेल्न बाँकी छ ।

चारपटकको विजेता जर्मनी पहिलो खेलमा जापानसँग पराजित भएपछि संकटमा परेको थियो । दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकिएको जर्मनीले बिहीबार राति कोस्टारिकालाई ४–२ गोलले हराएपनि अगाडि बढ्न सकेन ।

समान अंक भएको स्पेनसँग गोलअन्तरमा पछाडि रहेर अगाडि बढ्न नसकेको हो । सन् २०१४ को विश्व च्याम्पियन जर्मनी चार वर्षअघि आयोजित पछिल्लो संस्करणमा पनि पहिलो चरणबाटै बाहिरिएको थियो ।

यता पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले हराएको स्पेन दोस्रो खेलमा जर्मनीसँग बराबरीमा रोकियो भने तेस्रो खेलमा जापानसँग २–१ गोलले पराजित भयो । स्पेन सन् २०१० को विश्व च्याम्पियन हो । यसपटक स्पेन समूह उपविजेताका रुपमा अगाडि बढेको छ । जापान समूह विजेता बन्दै अगाडि बढेको छ ।

पहिलो खेलमा साउदी अरबसँग स्तब्ध भएको अर्जेन्टिना त्यसपछिका लगातार दुई खेल जित्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको छ । सन् १९७४ र १९८६ को विश्व विजेता अर्जेन्टिना सन् २०१४ को संस्करणमा फाइनलसम्म पुगेको थियो । साउदी अरब भने पहिलो चरणबाटै बाहिरिएको छ ।

त्यस्तै अघिल्ला दुवै खेल जितेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलले पराजित भयो । साविक विजेतासमेत रहेको फ्रान्स हारका बाबजुत समूह विजेता हुनबाट रोकिएन । फ्रान्सलाई हराएको ट्युनिसिया अगाडि बढ्न भने सकेन ।

दुईपटकको विश्व विजेता फ्रान्सले सन् १९९८ मा पनि उपाधि जितेको थियो । दुईपटकको विश्व विजेता उरुग्वेले पोर्चुगलसँग हार ब्यहोरेपछि संकटमा छ । शुक्रबार हुने खेलमा जित हात पारेपनि उरुग्वे अगाडि बढ्ने पक्का छैन ।

कमेन्ट गर्नुहोस्