टाट पल्टिँदै आईएमई कोअपरेटिभ सर्भिस !

206
0
Share:

पछिल्लो समय एकपछि अर्को सहकारी समस्याग्रस्त बन्दै गइरहेका छन् । ठूला भनिएका सहकारीहरु नै समस्याग्रस्त बन्दा बचतकर्ताहरुमा अन्यौलता र त्रास पैदा हुन थालेको छ ।

तरलता अभावका कारण पछिल्लो समय धेरै सहकारीहरु समस्याग्रस्त बनेका छन् । कतिपय सहकारी संस्था सञ्चालकहरुको महत्वाकांक्षाका कारण समस्यामा परेका छन् । सञ्चालकहरु आफूखुसी सहकारीको पैसा अन्यन्त्र लगानी गर्ने अनि लगानी डुबेको खण्डमा सहकारी नै समस्याको जन्जालमा फस्ने गरेको छ ।

एकपछि अर्को सहकारी समस्याग्रस्त बनिरहेको अवस्थामा आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड पनि समस्यामा परेको छ । रकम अभाव र संस्थामा रहेको नगद सञ्चालक समिति आफैले प्रयोग गरेपछि उक्त आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड समस्यामा परेको हो ।

यसअघि ठूलो सहकारी भनिएका सिभिल सहकारी संस्था, कान्तिपूर सहकारी संस्था, ओरेन्टीयल सहकारी संस्था तथा हालै मात्रै गौतमश्री बहुउदेश्य सहकारी संस्था समस्यामा देखिएका थिए । ती सबै सहकारी संस्थाहरु सञ्चालकले रकम प्रयोग गरेर तिर्न नसक्दा समस्यामा आएका हुन् । हाल आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडको समस्या पनि सोही प्रकृतिको रहेको जनाइएको छ ।

आईएमई कोअपरेटिभले बचत तथा ऋणको कार्य गर्दै आएको छ । उक्त संस्थाले हालै करिब ४० करोड रुपैयाँमा भवन निर्माण गरेको छ । सहकारीले केही रकम भवन निर्माणमा लगाएको भएपनि अघिकांश रकम यस संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकालका माध्यमबाट आइएमई ग्रुपका अध्यक्ष चन्द ढकालले प्रयोग गरेको पाइएको छ ।

करिब २ अर्ब रुपैयाँ बराबरको रकम सञ्चालकको हातमा पुगेपछि अहिले उक्त सहकारी संस्था नगद रकम अभावमा परेको हो । जसका कारण रकम लिन आउने व्यक्तिहरुलाई कम रकम दिएर पठाउन थालीएको छ ।

बजारमा नगदको अभाव भएपछि अन्य क्षेत्रको व्यवसाय टिकाउनका लागि चन्द्र ढकालले करिव २ अर्ब रुपैयाँ यसअघि नै चलाएका थिए । तर उक्त रकम हालसम्म फिर्ता आउन नसकेपछि सहकारी संस्था समस्याग्रस्त बनेको बुझिएको छ ।

आईएमई कोअपरेटिभ सहकारीको १२ सेवा केन्द्र नेटवर्कहरू, सात हजार बढी सदस्य र एक सय भन्दा बढी कर्मचारीहरु रहेका छन् ।

सहकारीको अध्यक्षमा योगेश्वर शर्मा ढकाल छन् भने सञ्चालक समितिमा धनप्रसाद शर्मा, रुद्रराज पौडेल, उपेन्द्र शर्मा घिमिरे र पूजा शर्मा, निर्देशक समितिमा छन् । त्यसैगरी जयराम नेपाल, सीए दीपक शर्मा पोखरेल सञ्चालक समितिमा छन् ।

अर्जुन शर्मा पौडेललाई सिइओका रुपमा देखाइने भएता पनि उनी सञ्चालक समितिको निर्देशनअनुसार आइएमई ग्रुप, यसका अध्यक्ष चन्द्र ढकाल तथा सहकारी संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकाललाई नै लगानी गर्न बाध्य छन् ।

आईएमई कोअपरेटिभ समस्याग्रस्त बनेको हो त ? भन्ने हाम्रो प्रश्नमा सहकारीका सीईओले भने बाहिर हल्ला भएजस्तो समस्या संस्थामा नरहेको दाबी गरे । अहिले सबै सहकारी संस्थाहरुमा तरलताको समस्या देखिएको भन्दै उनले संस्थाको बचाऊ गरे ।

कमेन्ट गर्नुहोस्