फिफा विश्वकप : इरानसँग वेल्स स्तब्ध

254
0
Share:

कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्सलाई स्तब्ध पार्दै इरानले पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा सटिमेएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो।

यससँगै इरानले वेल्सलाई पहिलो पटक पराजित गरेको छ । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो ।

खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २(० को रोमान्चक जित दिलाए ।

त्यसअघि इरानका अलीले १६ औं मिनेटमा गोल गरेपनि मान्यता पाएन । भीएआरले उनलाई अफसाइड देखाएको थियो । दोस्रो हाफमा इरानको दुई प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । यस्तै खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो ।

इरानका तारेमी मेहदीलाई फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिँदै मैदान हिबार पठाएका थिए ।

यस जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘ब’ मा इरान दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो ।

वेल्सले २ खेलमा १ अंक जोडेको छ । वेल्स पुछारमा रहेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्