
यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको हो। यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको छ ।
नेपालका लागि गुल्सन झाले ३७, कुशल भुर्तेले ३५, आरिफ शेखले ३३, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३ र सोमपाल कामीले १६ रन बनाए । यूएईका लागि रोहन मुस्ताफाले तीन, हजरत बिलालले दुई र बसिल अहमदले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो । नेपालले कसिलो बलिङ गरेपछि यूएई सामान्य स्कोरमै समेटिएको थियो । यूएईका लागि मुहम्मद वासीमले ५०, अलिशान सारफूले ३५, वृत्य अरविन्दले २५ र विष्णु सुकुमारनले २४ रन बनाएका थिए ।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले तीन-तीन तथा करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेले एक-एक विकेट लिएका थिए ।
यो जितसँगै एकदिवसीय श्रृङ्खलामा १-१ बराबरी बनेको छ। शुक्रबार हुने तेस्रो खेल विजेताले श्रृङ्खला जित्नेछ ।








