
राधी विद्युत कम्पनीको १३ लाख बढी कित्ता अवितरित हकप्रद सेयर आजबाट बिक्री खुला भएको छ ।
कम्पनीले गत असोज ५ गतेबाट असोज २५ गतेसम्म चुक्तापुँजीको १:१.४७५२ अनुपातमा कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा बिक्री नभएको १३ लाख ५२७.९९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।
यो लिलामी सेयर खरिदका लागि इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले मंसिर ७ गते बैंकिङ समयभित्र बोलपत्र पेस गर्नुपर्नेछ । काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक (पोखरा), बागलुङ, बुटवल, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।








