गगन थापासँग चुनाव लड्छु भन्ने अर्जुन प्रसाईंमाथि करोडौंको भ्रष्टाचार आरोप

263
0
Share:

काठमाडौं । आगामी ४ मंसिरमा हुने आमनिर्वाचन लड्न स्वतन्त्र उम्मेदवारी दिनेको संख्या सयौं छ । गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा देशकै राजधानीसमेत रहेको काठमाडौं महानगरमा प्रमुखदेखि देशका अन्य पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यसम्म गरी झन्डै चारसय जनाले बाजी मारेपछि आसन्न निर्वाचनमा पनि स्वतन्त्रको लहर चलेको हो । स्वतन्त्र उम्मेदवारी दिनेमा डाक्टर, इन्जिनियर, पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रका विज्ञदेखि आफ्नो परिवारसमेत व्यवस्थित रुपमा चलाउन नसक्ने तर देश चलाउँछु भन्दै राष्ट्रवादी र आदर्शवादी भाषण छाँट्दै हिँड्ने पनि छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट दलहरुका ‘हेभीवेट’सहित ३५ जनाको उम्मेदवारी परेको छ, जसमा स्वतन्त्र मात्रै १७ जना छन् । यी नै १७ स्वतन्त्रमध्येका एक अर्जुनकुमार प्रसाईं एक हुन्, जसले ठिकठाकसँग आफ्नो परिवारसमेत चलाउन सकेका छैनन्, तर उनी देश चलाउन संसद् छिर्छु भन्दै हिँडेका छन् । उनी ९१ वर्षीय देवेन्द्र प्रसाईंका माइला छोरा हुन् । उनका जेठा दाइ क्यानडामा छन्, भने कान्छा भाइ कपनमै बस्छन् । दुईजना छोरा स्वदेशमै भए पनि बुवा (देवेन्द्र)लाई न अर्जुनले न त उनको कान्छा भाइले नै पालनपोषण गरेका छन् । देवेन्द्रलाई लामो समयदेखि छोरीले नै पालनपोषण गर्दै आएकी छन् । छोरीकै साथमा हरँदा तीन वर्षअघि देवेन्द्रपत्नी अर्थात् अर्जुनकी आमाको निधन भयो ।

काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापा र एमाले नेता राजन भट्टराइलगायतलाई हराएर संसद्मा जनताको आवाज बुलन्द पार्छु भन्ने प्रसाईं पारिवारिक जिम्मेवारीबाट समेत पन्छिन खोजेको यसबाट पुष्टि हुन्छ । अर्जुनको आफन्त तथा साथीभाइसँगसमेत राम्रो सम्बन्धन नभएको उनीनिकट एक स्रोत बताउँछ । ‘आफन्त कोहीसँग खासै राम्रो छैन । उनी टोलटोलमा समेत झगडा गर्दै हिँड्छन्’, स्रोतको भन्यो ।

आमचुनाव नजिकिँदै आउँदा अर्जुन पनि अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी रातभर मदिराको नसामा डुब्छन् र बिहान घरदैलो निस्किन्छन् । हेर्दा पनि बडो भलादमी देखिने अर्जुनले जनताका घरदैलोमा पुगेर आश्वासन बाँड्छन्, मिठा कुरा गर्छन्, राष्ट्रवादी भाषण छाँट्छन् । सिँचाइ ओभारसियर उनी आफूलाई इन्जिनियर हुँ भन्दै मतदातासमक्ष आफ्नो ओज आफै उकास्छन् । एमालेको राजनीतिसँगै करिब ३५ वर्ष सुगम क्षेत्रमा सरकारी जागिर खाएका तर दुर्गम सरुवा भएपछि जागिर नै छाडेर राजनीतिलाई नै पेशा बनाएका उनीमाथि भ्रष्टाचार आरोपसमेत छ ।

एमालेको सरकार छँदा उनले आर्जन गरेका अवैध सम्पति व्यवस्थापन गरिएको स्रोतको दाबी छ । ‘उनले भ्रष्टाचार गरेर, कमिसन खाएर करौडौं सम्पति आर्जन गरेका छन् र ती सम्पत्ति आफन्तको नाममा समेत राखेका छन्’, स्रोत भन्छ, ‘त्यसलाई एमाले सरकारमा हुँदा सरकारसँगै मिलेर व्यवस्थापन गरिएको हो ।’

उम्मेदवार अर्जुनकुमार प्रसाईंमाथि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धन आयोगले छानबिन गरे उनी जेलसमेत जान सक्ने स्रोतको दाबी छ । ‘सम्पत्ति शुद्धिकरण र अख्तियारले छानविन गरे उनी त जेल जानसक्ने व्यक्ति हुन्’, स्रोतले भन्यो ।

कमेन्ट गर्नुहोस्