
मधेस प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’अन्तर्गत सोमबार भएको खेलमा बागमती प्रदेशविरुद्ध खेल टाई भएपछि एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेसले ४६.२ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ९० रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा एक सय ९१ रनको लक्ष्य पछ्याएको बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाउनुअघि समान एक सय ९० रन नै बनाएपछि खेल टाई भएको हो ।
बागमतीका लागि ५२ बलको सामना गरेका पृथु बाँस्कोटाले दुई चौका र एक छक्कासहित सर्वाधिक ४० रनको योगदान गरे। त्यस्तै, ओपनर ऋत गौतम ३२ तथा इशान पाण्डे ३१ रन बनाएर पेभेलियन फर्केका थिए। त्यस्तै विवेक मगर २५ तथा सूर्य तामाङ २८ रन बनाएर पेभेलियन फर्केका थिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ मधेसका लागि राजेश यादव र प्रदीप पासवानले तीन-तीन विकेट लिए । रुपेश सिंहले दुई तथा हरिशंकर साहले एक विकेट लिए ।
पहिलो इनिङमा ब्याटिङ गरेको मधेसका लागि रोहन विकले ९४ बलमा ६ चोका र दुई छक्कासहित ६३ रनको अर्धशतकीइ इनिङ खेलेका थिए । ओपनर सन्तोष कार्कीले २३ रनबाहेक अन्य ब्याटरको योगदान उल्लेख्य रहेन ।
बागमतीका लागि नन्दन यादव र सूर्य तामाङले तीन-तीन तथा रामनरेश गिरी र प्रतिश जिसीले दुई-दुई विकेट लिएका थिए। बराबरीसँगै समूह ‘बी’मा तीन खेलबाट पाँच अंक जोडेको मधेसले अन्तिम चारमा स्थान बनाएको छ। समान तीन खेलबाट ६ अंक जोडेको नेपाल पुलिसले पनिसे मिफाइनल यात्रा तय गरिसकेको छ।
चार खेलबाट चार अंकमात्रै जोडेको लुम्बिनीको यात्रामा पूर्णविराम लागिसकेको छ। त्यस्तै, समूह चरणमा एक खेल जितेको प्रदेश एक चौथो स्थानमा रहँदै बाहिइसकेको छ भने जितविहीन बागमतीले तालिकाको अन्तिममा रहेर प्रतियोगिता टुङ्ग्याएको छ।
समूह ‘ए’बाट एपीएफले सेमिफाइनल यात्रा तय गरिसकेको छ भने गण्डकी आर्मीको नतिजा पर्खेर बसेको छ। अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशविरुद्ध जित हासिल गर्यो भने विभागीय टिम नै अन्तिम चारमा पुग्ने छ।
आर्मी पराजित भए गण्डकीले समूहको उपविजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाउने छ। सुदूरपश्चिम र कर्णालीको यात्रा समूह चरणमै टुङ्गिसकेको छ।








