
नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताए ।
हाल उक्त नगरपालिकाको गिरुवारी खोलापूर्व क्षेत्रमा प्रगतिनगर सवस्टेशन र पश्चिमतर्फ बर्दघाट सवस्टेशनमार्फत विद्युतीकरण हुँदै आएको छ । अब सवस्टेशन निर्माणपछि गिरुवारी खोला पश्चिमका साथै उक्त नगरपालिका र गाउँपालिकामा सोही स्टेशनबाट विद्युत प्रशारण हुनेछ । हाल यहाँका बासिन्दाले कम भोल्टेजका कारण समय समयमा विद्युत् अवरुद्ध हुने समस्या झेल्दै आएका छन् ।
सवस्टेशन निर्माणले स्थानीय उपभोक्ताले भोग्नुपरेको समस्या सामाधानसँगै स्थानीयस्तरमा लगानीको वातावरणसमेत तयार हुने गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । हाल यस गाउँपालिकामा उद्योग तथा व्यवसाय स्थापनाका लागि आउने व्यवसायीको सङ्ख्या उल्लेखनीय रहेको उनले जानकारी दिए।
“ गाउँपालिकाभित्र सञ्चालित देशकै ठूलो सिमेन्ट उद्योगसहित यहाँ सञ्चालित अन्य उद्योग त यसै पनि लाभान्वित हुन्छन्,” अध्यक्ष गिरीले भने, “नयाँ व्यवसाय गर्न चहाने व्यवसायीलाई पनि आवश्यक पूर्वाधारको उपलब्धता भए लगानी मैत्री वातावरण अवश्य बन्छ ।” रासस








