
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रबार सन्दीपलाई थुनामा पठाउने आदेश गरेपछि उनले त्यस आदेशलाई सम्मान गर्ने बताएको उनका कानून व्यवसायीले बताएका हुन् ।
अधिवक्ता मुरारी सापकोटाले सन्दीपले अदालतको आदेश सम्मान गर्ने बताएको जानकारी दिए । ‘थुनछेकको आदेशपछि सन्दीपसँग कुरा गर्दा उहाँले आफूले निर्णय सम्मान गर्ने बताउनुभयो’, सापकोटाले भने ।
तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप निर्दोष ठहर गर्न नसकिएको भन्दै अदालतले थुनामा पठाउन आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।
एक १७ वर्षीया किशोरीले आफूलाई सन्दीपले पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौसलामा किटानी जाहेरी दिएपछि घटनाबारे अनुसन्धान थालेको प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।








