
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमा मिच्ने भारतीय प्रवृत्तिको आलोचना गरेकाका छन् । चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुलाको खलंगा पुगेका उनले नदी वरतिर सर्यो भनेर सीमा वरतिर सार्न नमिल्ने बताए ।
‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन । ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्यो कि सिमाना सारिहाल्ने ?’ ओलीले भने, ‘भारतले हाम्रो भू—भागबाट अनावश्यक ढंगले बाटो बनायो, हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो ।’
ओलीले आफैमा विशाल भारतले अलिकति सीमाना सार्न नसुहाउने बताए । नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्ने भन्दै त्यस्तो काम भारतले गर्न नहुने उनले बताए । ‘यो सुहाउँदैन । नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन् । त्यो कुरा भारतले गर्न हुँदैन । यो मैले भारतका नेताहरुलाई भनिरहेको छु,’ उनले भने ।








