
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १८ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ३९ लाख रुपैयाँ र फाइनान्समा १ करोड १३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही कत्तिक २१ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दाबढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।








