
कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएकाे छ ।
बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा छन् ।
घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका थिए । घाइते बालबालिकाको अवस्था गम्भीर रहेको बताइएकाे छ ।
बम, कसले र किन राखेको हो भन्नेबारे कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय कालीकोटले बताएकाे छ ।








