आज गोवर्धनपूजा र गोरुपूजा

235
0
Share:

कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवर्धनपूजा । बुधबार प्रातः कालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ ।

भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ ।गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ ।

उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ । उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ । बुधबार नै गोरुको पनि पूजा गरिँदैछ। गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ । नेपालजस्तो पहाडी भू–भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ ।

गोवर्धनपूजालाई हलीतिहार पनि भनिन्छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बुधबार २३ः३० घडी अर्थात् अपराह्न ३ बजेर ११ मिनेटसम्म बजेसम्म प्रतिपदा तिथि छ ।

कमेन्ट गर्नुहोस्