
ललितपुर । गत साउन १० देखि ललितपुर ठेचोमा नवदुर्गा नाचको १२ वर्षे जात्रा सुरु भएको थियो । यो सङै जात्रा अवधिभर बस्तीमा बिहे, भोजभतेर, व्रतबन्ध गर्न निषेध गरिएको थियोे र नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजा, घण्ट, सिठ्ठी, ताली बजाउन निषेध गरिएको थियो। साथै राती हिँडडुल गर्न, खुट्टा झुन्ड्याएर बस्न र घरमा रात बस्ने गरी पाहुना बोलाउन हुदैन भन्ने मान्यता रहेको छ । यो निषेध चैतसम्मै रहने छ । यसै क्रममा कार्तिक ७ गते ठेचो नवदुर्गा भवानीको १२ वर्षे जात्रा अन्तर्गत मुख्य मानिने श्वेतभैरवको नाच सम्पन्न भएको छ । नाच हेर्न हजारौ भक्तजनहरुको उपस्तिथि रहेको थियो ।श्वेतभैरवको नाच १२ वर्षमा एक पटक मात्र देखाउने गरिन्छ । नाचको क्रममा श्वेतभैरवको पहिलो दर्शन पाउने व्यक्तिको लक्षिणयुक्त सन्तान लाभ हुने जनविश्वास रहिआएको छ । उक्त दिन बिहान राष्ट्रपति बिध्यादेबी भन्डारीज्यु पनि नवदुर्गा भवानि दर्शनका निमित्त ठेचोमा सवारी हुनु भयेको थियो । १२ वर्षमा एक पटक अनिवार्य नचाइने यो नृत्य येदि कोहि भक्तजनहरुले इच्छाएको खण्डमा कुनै पनि समय आवश्यक प्रबन्ध मिलाइ बलिसहितको पूजासामाग्री जुटाएर श्वेतभैरव नाच नचाउन मिल्ने गुठीले जनाएको छ ।







