
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमाससम्ममा बैंकको प्रगति त्यति उत्साहजनक देखिएको छैन ।
असोज मसान्तसम्ममा बैंकको खुद नाफा १९.६५ प्रतिशतले घटेर ४५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य मुनाफा भने बढेर १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४५ करोड रुपैयाँमा सीमित थियो।
यो त्रैमासमा बैंकको सञ्चालन मुनाफा २० प्रतिशतले घटेर ६४ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८० करोड ५१ लाख रुपैयाँ रहेको थियो।
पहिलो त्रैमासमा बैंकले १ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
चुक्तापुँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५३ करोड रुपैयाँ सञ्चित छ ।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.३० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.५ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८६.४४ प्रतिशत रहेको बैंकको आधारदर १०.३६ प्रतिशत छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर १७.५९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २१.९० प्रतिशत रहेको थियो। मूल्य अनुपात आम्दानी (पीई रेसयो) १२.६७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९.९ रुपैयाँ रहेको छ।








