
सत्ता गठबन्धनका दुई उम्मेदवारलाई निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत सहयोग रकम उपलब्ध गराएको भन्दै स्पष्टीकरण साेधेकाे छ ।
आयाेगले मकवानपुर क्षेत्र नं. २ का नेकपा एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं. २ (२) का नेपाली काग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको हाे ।
खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही १५ हजार रूपैयाँ उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।
आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ स्मरण गराइएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदाफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख गरिएको छ ।








