
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरतापूर्ण बन्ने अवस्था रहेको बताएका छन् । बिहीवार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत, साधनको संरक्षण, सम्बद्र्धन वातावरणअनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको बताए ।
उनले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय विस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको पनि उल्लेख गरे । उनले प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पुर्याउन सकिने बताए ।
प्रधानमन्त्री देउवाले प्रकृति एवं जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र मुलुकको समृद्धिमा सहयोग पु¥याउने गरी काम गर्न आवश्यक रहेको पनि बताए । उनले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै वन्यजन्तुको संरक्षणको विषयलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिने बताए । उनले वन्यजन्तुको संख्या बढ्दै गइरहेकाले मानिसको क्षति नहुने गरी काम गर्न पनि सम्बन्धित निकायहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले मानव–वन्यजन्तु द्वन्द्व हुने ठाउँमा संरक्षित क्षेत्र कार्यालय, वन्यजन्तु कार्यालयको सहकार्य र समन्वयमा समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिन आवश्यक रहेको बताए । उनले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन पनि सम्बन्धित निकायलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने भएकाले यस्ता क्षेत्रको व्यवस्थापन गरी आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटकीय सेवाहरूको स्तरोन्नतिमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।








