
काठमाडौं महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । संवाद डबलीमा भएको कार्यक्रममा उनीहरुले महानगरले आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतावनी दिएका हुन् ।
मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी लमजुङकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प एक मात्र बाँच्ने आधार नै खोसेर अमानवीय व्यवहार गरेको बताइन् । कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नागरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठीबास लगाउने ?”
आफूले रोई कराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको उनले बताइन् । थापाथलीस्थित प्रसूति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजारा चलाउँदै आएकी थिइन् ।
त्यसैगरी हेटौंडा स्थायी घर भई गाडामा जुत्ता चप्पल बेच्ने विमला चौलागाईंले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार खासेको बताइन् । अर्की पीडित रामेछाप मन्थलीकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चटपटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने ? भन्दै दुखेसो पोखिन् । उनले नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कसलाई भन्ने भन्दै भावुक भइन् ।
महानगरले पछिल्लो समय अवैध संरचना हटाउने अभियानै चलाएको छ भने फुटपाथका खुद्रा व्यापारीहरुलाई हटाएको छ । विनाविकल्प हटाएको भन्दै उनीहरु महानगर प्रमुख बालेन साहप्रति रुष्ट छन् ।








