
वार्षिक विनियोजनको तुलनामा निकै न्यून खर्च हुने परिपाटी यस वर्ष पनि दोहोरिएको छ। गत आर्थिक वर्ष ०७८/७९ मा सरकारले करिब ८० प्रतिशत मात्रै बजेट खर्च गरेको थियो।
चालु आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासिक अवधिमा सरकारको बजेट खर्च साढे १५ प्रतिशत बराबर मात्रै देखिएको छ।
असोज मसान्तसम्ममा वार्षिक विनियोजनको १५.५१ प्रतिशत अर्थात् २ खर्ब ७८ अर्ब १६ करोड ६३ लाख रुपैयाँ बराबर बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
असोज मसान्तसम्ममा चालुगत शीर्षकमा विनियोजित बजेटको १८.९१ प्रतिशत अर्थात् २ खर्ब २३ अर्ब ७५ करोड २७ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै पुँजीगत शीर्षकमा ५.१५ प्रतिशत अर्थात् १९ अर्ब ६८ करोड ११ लाख र वित्तीय व्यवस्थापन शीर्षकमा १५.०५ अर्थात् ३४ अर्ब ७३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।








