
बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै नगद फिर्ता योजना सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना ल्याएको जनाएको छ।
यो योजना यहि २०७९ साल कात्तिक १ गते मंगलबारबाट ६ गतेसम्म मात्र रहने छ। यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगदफिर्ता पाउने बैंकले जनाएको छ।
उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु. १५० सम्मको नगदफिर्ता पाउनेछन्।
बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको थियो।
विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकहरुलाई लाभान्वित बनाउन बैंक प्रतिवद्धता जनाएको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।








