
आश्विन २८, २०७९ गोदावरी खबर
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी चुनाव अगाडि नै ल्याउने तयारी भइरहेको छ । खानेपानीको मुहानसम्म पुग्ने अस्थायी संरचना बनाई खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए ।
‘करिब साढे तीन किलोमिटर अस्थायी संरचना बगाएको छ, पहिला बनाएको रोडको प्लाटफर्म नै छैन,’ उनले भने, ‘मुहानसम्म पुग्ने अस्थायी संरचना बनाई टनेल सफा गरेपछि पानी ल्याउन सक्छौं ।’ अहिले अम्बाथानस्थित इन्जिनियरिङ क्याम्पसम्म पुग्ने २ किलोमिटर सडक उभोक्ता समितिमार्फत् बनाइरहेको आयोजनाले जनाएको छ । यसैभित्र ५ सय मिटर सडक हेलम्बु गाउँपालिकाले निर्माण गरिरहेको उनले बताए ।
क्याम्पदेखि पानीको मुहानसम्म झण्डै डेढ किलोमिटर सडक कन्ट्रयाक्टरमार्फत् बनाउने तयारी भइरहेको उनले जानकारी दिए । गत वर्ष यहीं संरचना बनाउन १८ करोड खर्च भएको थियो । यस वर्ष धेरै काम गर्नु नपर्ने भएकाले गत वर्षको तुलनामा ५० प्रतिशत कम खर्च हुने आंकलन गरिएको उनले बताए । ‘गएको वर्ष समयमै गेट बन्द गर्न नसक्दा टनेलमा धमिलो पानीसँगै गेग्रान समेत पसेको थियो । त्यहीं टनेल सफा गर्न १४/१५ दिन लाग्याे । यस वर्ष छिट्टै गेट बन्द गरिएकाले गेग्रानहरु पस्न पाएको छैन’ उनले भने, ‘त्यसैले पनि धेरै काम गर्नु पर्दैन । अस्थायी सडक बनाउन पनि गएको वर्षजस्तो धेरै मेहनत गर्नु पर्दैन ।’
आजको ७/८ दिनभित्र मुहानसम्म नै मान्छे पुग्न सक्ने वातावरण मात्र बनाउन सके भने पनि चुनावअघि नै पानी ल्याउन सकिने उनले बताए । ‘आकाशे पानी पर्न छोडेपछि उपत्यकामा पानीको अभाव बढ्न थाल्छ, त्यसैले उपत्यकामा अभाव खड्किनु अगावै पानी ल्याउने लक्ष्य हाम्रो हो,’ उनले भने, ‘चुनावलक्षित भन्दा पनि पानीको अभाव हुनुअघि नै वितरणा गर्नु हो ।
अघिल्लो वर्षको बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पुर्याएपछि गत वर्षको वैशाख ११ गतेदेखि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको थियो । तर वर्षायाम लागेपछि बाढी आउन सक्ने भन्दै जेठ १७ गते नै मेलम्ची खानेपानी आयोजना सुरुङको मुल ढोका (गेट) बन्द गरिएको थियो







