
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्ध लम्ब्याउन सिफारिस गरेको छ । यी वस्तुको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न सिफारिस गरिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।
उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि मन्त्रालयले बन्देजलाई यथावत् राख्न सिफारिस गरेको हो । गत वैशाख दोस्रो सातादेखि नै कार,जिप,भ्यान, १५० सीसीमाथिका मोटरसाइकल, मदिरा र ३ सय अमेरिकी डलरभन्दा महँगा मोबाइल फोनको आयातमा प्रतिबन्ध लगाइएको छ ।
मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल लगायतका १० वस्तुको आयात बन्देज गर्ने निर्णय गरेको थियो । भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गरी ६ प्रकारका वस्तुहरू चुरोट तथा सुर्ति, हिरा, टीभी, खेलौना, तास, कुरकुरे, लेजजस्ताको प्रतिबन्ध फुकुवा गरिएको थियो ।
४ वस्तु गाडी, मोटरसाइकल, तयारी मदिरा, स्मार्ट फोनको आयात प्रतिबन्ध भने यथावत राख्ने निर्णय गरेको थियो । यो आयात प्रतिबन्धको अवधि शुक्रबार सकिँदैछ । त्यसअिघ नै प्रतिबन्धलाई यथावत राख्न मन्त्रालयले सिफारिस गरेको हो । अब यसबारे थप निर्णय मन्त्रिपरिषद्बाट हुने छ ।








