
आगामी ४ मंसिमा हुने संघ तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । मतदाताले आफ्नो स्वविवेकको मत प्रदान गर्न ३८ दिन मात्र बाँकी छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरु झनै व्यस्त बनेका छन् ।
शहर केन्द्रित नेताकार्यकर्ताहरु पनि चुनावी माहौल बनाउन गाउँगाउँ पुगिसकेका छन् । निर्वाचनपछि गाउँ बिरलै पुग्ने र पुग्दै नपुग्नेहरु समेत गाउँ गाउँ पुगेर मतदाता फकाउन थालिसकेका छन् ।
ठूलादेखि साना सबै दलहरुलाई चुनावी माहौलले छोएको छ । उम्मेदवारको टुंगो लागेसँगै चिया पसलदेखि २ जनाभन्दा बढी भेला हुने ठाउँहरुलाई फलानो र ढिस्कानो जित्छ भन्ने अड्कल काट्न थालिसकेका छन् ।
दलहरुको दलदललाई चिर्न भन्दै स्वतन्त्रहरु पनि चुनावी मैदानमा होमिएका छन् । कोही पार्टीले टिकट नदिएको भन्दै बागी उम्मेदवारी दिएर मैदानमा उत्रिएका छन् । सबैलाई चुनावी सरगर्मीले छोएको छ । युवापुस्ताहरुमा भने राजनीतिप्रति वितृष्णा जागेको छ । उनीहरु युवापुस्ता मूलधारमा आउनुपर्छ भन्ने पक्षमा छन् । कतिपय युवाहरुले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् भने कतिपय युवाहरु नयाँ पार्टीमार्फत उदय हुँदै छन् ।
नयाँ पार्टीमार्फत चुनावी मैदानमा होमिन लागेका मध्ये एक युवा हुन् हरि ढकाल । ढकाल नेपाली सेयर बजारका सक्रिय लगानीकर्ता हुन् । नेपाली पुँजी बजारको सुधारका लागि पनि लामो समयदेखि संघर्ष गर्दै आएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रँदैछन् । उनी चितवन क्षेत्र नम्बर एकबाट प्रतिस्पर्धामा गर्दैछन् । प्रस्तुत छ, उनै ढकालसँग अर्थसञ्जालले गरेको कुराकानीको सम्पादित अंशः–
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा लागि चितवन १ बाट उम्मेदवारी दिनुभएको छ । निर्वाचन नजिकिंदै गर्दै तपाईँको तयारी कसरी चल्दै छ ?
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि औपचारिक रुपमा जम्मा १५ दिनको समय दिन्छ । तर हामी घरदैलो अथवा भेटघाट कार्यक्रममा एक सय एक दिन बिताएका छौँ । भेटघाट, रणनीति, कार्यजोजना र टिम निर्माण लागत सबैको तयारी मैले एक सय दिन अगाडिबाट सुरु गरेको थिए । आज सय दिन पूरा भइसकेको छ । तयारी एकदमै राम्रो छ ।
घरदैलो कार्यक्रम, भेटवार्ता र छलफलको क्रममा कस्तो खालको प्रतिक्रियाहरु पाउनुभयो ?
राष्ट्रिय स्वतन्त्र पार्टी असर १७ गते नै विधिवत् रुपमा निर्वाचन आयोगमा दर्ता भयो । म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार छु । देशैभरी युथ मुभमेन्ट छ । युवाको लोकतान्त्रिक आन्दोलन भोटमार्फत व्याप्त बेथितिको अन्त्य गर्नका लागि युवाहरु जागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरुलाई समेटेको छ । पार्टीले जान्नेलाई छान्ने अभियान लिएर आएको छ । त्यही अभियानअन्तर्गत हामीले हाम्रो क्षेत्र (चितवन क्षेत्र नम्बर १ ) मा व्यापक रुपमा प्रचारप्रसार गरिसकेका छौँ ।
पूर्व चितवनबासी क्षेत्र नम्बर १ का आम युवा, अभिभावक, आम नागरिक समाज, बौद्धिक वर्ग सबैले मेरो उम्मेदवारीको स्वात गर्नुभएको छ । हार्दिकता देखाउनुभएको छ । यो बीचको क्याम्पेनमा हामीले देखेको फ्याक्ट चिज भनेको यस पटक पनि यदि पुराना दलहरुलाई परिवर्तन गर्न सकेनौं, नयाँ युवापुस्तालाई भोट गर्न सकेनौँ भने पछुताउनु पर्छ भन्ने खालको माहोल बनेको छ । गाउँका किसान, श्रमजीवी वर्ग, मजदुर सबै भोट चेन्ज गर्न, नयाँ पार्टी, वैकल्पिक शक्तिलाई भोट गर्न आतुर छन् । मंसिर ४ कुरेर बस्नुभा’छ । यी कुरा मैले अनुभूति गरेको छ ।
चितवन क्षेत्र नम्बर एक बाटै तपाईँको उम्मेदवारी किन ? चितवनबासीले तपाईँलाई नै किन मतदान गर्नुपर्छ ?
मेरो विगत, मेरो ४ पुस्तादेखि मतलब मेरो हजुरबुवा २०१५ सालमा गोरखादेखि चितवन झर्नुभयो । मेरो बुवा यही जन्मनुभयो । म यही छु । मेरो बच्चा यही छ । म यहाँको धुलोमाटोमा हुर्किएको हुँ । यहाँको नदी, खोला सबले मलाई चिन्छ । यहाँको माटोले मलाई चिनेको छ । मेरो जतिपनि सामाजिक काम छन्, मेरो सेक्टर सेयर बजारको सन्दर्भमा त्यहाँको अभियन्ता नै भए । मेरा सामाजिक कामहरु, मेरा प्राथमिकताहरु विशेष गरी चितवन क्षेत्र नम्बर एक मै फोकस थियो । म विगतमा विद्यार्थी राजनीतिमा सक्रिय थिए । विद्यार्थी राजनीति गर्दै गर्दाखेरि मैले गरेका कामहरु यही थिए । म विभिन्न संघसंस्थामा विगतका दिनहरुमा सानै उमेरदेखि सक्रिय थिए । चितवन क्षेत्र नम्बर एक मै उम्मेदवारी किन भन्ने कुरा जोड्न चाहन्छु । मेरो जनआधार एकदमै बलियो छ । म यो समाजमा भिजेको छु । माटोले मलाई चिनेको छ ।
अर्को सन्दर्भ मैले जोडे । मैले बालिग हुँदादेखि आजको दिनसम्म मैले चितवन क्षेत्र नम्बर एकमा केही न केही सामाजिक काम गरिराखेकै छु । यसको बारेमा चितवन क्षेत्र नम्बर एकका आम जनता जानकार छन् । मैले काठमाडौं क्षेत्र नम्बर २ को उम्मेदवारी दिने कुरा निकाल्दा उहाँहरुले नै चितवन क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुस् भन्ने आग्रह पनि गर्नुभएको थियो ।
नेकपा एमाले निकट विद्यार्थी राजनीतिमा होमिएर एमालेप्रति आस्था राखेको एक युवा नेतृत्व एमाले त्यागेर अब नयाँ पार्टीमा लाग्नुपर्छ भन्ने सोच कसरी आयो ?
विगत ४ वर्ष (अघिल्लो निर्वाचन २०७४) देखि यताका घटना र जुनै पनि पुराना पार्टी (मैले आस्था राखेको अथवा अन्य कुनै पार्टी) हरुको रबैया, यी पार्टीहरुको सत्ता मोह, यी पार्टीहरुको वेथिति, यी पार्टीहरुको बीचमा लाभलाई आफू, आफ्ना र आफन्तीका लागि जुन खालको चलिराख्यो त्यो पुरानै ढर्रामा चल्यो । जनतामा केही आशाका किरणहरु थिए । ती आशाका किरणहरु झन् दबाब हाबी हुन पुग्यो । यही बीचमा मैले आफ्नो पार्टी सदस्यता गराएको थिइन । यही बीचमा युवा मुभमेन्ट चल्यो । यो युवा मुभमेन्टमा म बालेनजीको क्यान्पेनमा डे वानदेखि नै थिए । हामीले त्यो क्याम्पेनबाट एकदमै सकारात्मक युवाहरुले खोजेको, आम जनमानसले खोजेको नेतृत्व काठमाडौं नगरपालिकालाई दिन सक्यौँ । र मैले असार ३ गते नै जबकी राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता नै भएको थिएन । असार ३ गते नै मैले चितवन क्षेत्र नम्बर एक बाट मेरो उम्मेदवारी स्वतन्त्र रुपमा हुनेछ भनेर आम मिडिया जगतलाई जानकारी गराएको थिए ।
यो बीचमा जान्नेलाई छान्ने अथवा एउटा सेक्टरमा अलिकति दखल राख्ने एउटा युवाको जिम्मेवारी समाजप्रति पक्का छ । र भ्रष्टाचारको जालो काट्नका लागि हामीले म मुद्रा बजारमा सक्रिय रहँे, म पुँजीबजारमा सक्रिय रहँे । यो बीचमा म आफूले चलाएका मुभमेन्टहरु त्यो सिंहदरबार भित्रका वेथितिहरु र नेतृत्वले गरेका वेथितिहरुको बारेमा म जानकार रहेँ र एउटा युवाले समाजमा रहेर किन केही नगर्ने ? समाज परिवर्तन गर्ने केही हिम्मत राखिएन भने, एउटा युवाले केही मुभमेन्ट चालेन भने, यदि एउटा युवाले आन्दोलन थालेन भने त्यो समाज गतिशील बन्दैन त्यो समाज रुपान्तरण हुँदैन । मैले यसैले आधार मानेर म गतिशील छु, म रुपान्तरण चाहन्छु, म मेरो देश, समाज र मेरो क्षेत्रमा विकास चाहन्छु विकसित भएको हेर्न चाहन्छु । दिगो विकास भएको हेर्न चाहन्छु । त्यसैले नै मैले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएको हुँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी विल्कुलै नयाँ पार्टी हो । मूलधारमा आइसकेका पार्टीसँग प्रतिस्पर्धा गर्न अत्यन्तै कठिन अवश्य छ । अझ चितवन १ मा त बलिया प्रतिस्पर्धीहरु छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेदेखि योजना आयोगमा पूर्वउपाध्यक्ष विश्व पौडेलसम्म प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरुलाई हराएर विजयी हुन्छु भनेर आशा गर्ने कुनै ठाउँ छ र ?
मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, मैले नाम भनिन । म कसैलाई गाली गर्ने खालको पनि छैन । मेरै एजेन्डा लिएर जान्छु । कसैको आलोचना त गरिन तर म केही प्रश्न गर्न चाहन्छु । कोही माननीय विगत १५ वर्षदेखि यसै क्षेत्रको हुनुहुन्छ उहाँले १५ वर्ष अगाडिदेखि जनतामाझ ल्याउनु भएको घोषणा पत्रहरु कति कार्यान्वयन भए त ? राजनीतिमा लागेपछि एउटा पोर्टफोलियो बन्छ । त्यो पोर्टफोलियोको ढर्राले नै के अब चुनाव चित्छ त ? यो पन्ध्र वर्षको बीचमा अब ल्याउने एजेन्डा जनताले फेरि पत्याइदिनुपर्छ र ?
अर्को सन्दर्भको लागि म जोड्न चाहन्छु । विज्ञता, अनविज्ञता कुनैपनि पार्टीहरुमा हामीले अगाडि डाक्टर लगाउनुभा’का विज्ञहरुलाई नदेखेका हौँ र ? आम जनमानसले नभोगेको होर ? पुँजीबजारलाई अर्थतन्त्रको ऐना भनिरहँदा हिजोको सरकारमा डाक्टर युवराज खतिवडा अर्थमन्त्री हुँदाखेरि उहाँको कार्यकाल ९ महिना पुग्दासम्म म यहाँको विकास विस्तार र अनलाइन प्रणाली ल्याइदिनु भन्नका लागि अर्थमन्त्रालयमा धाए । एउटा पुँजीबजारको विकासको लागि एउटा अभियन्ताले ९ महिनासम्म सिंहदरबार धाउँदै गर्दा पार नलागेर मैले ११ दिनको रिले अनसन र पाँच दिनको आमरण अनसन बस्नुपर्यो । मैले विज्ञताको सन्दर्भमा यो कुरा जोडँे ।
अब कुरा रह्यो योजना आयोगका उपाध्यक्ष । उहाँ पनि मेरो प्रतिस्पर्धी हो । अब मा जोड्न चाहन्छु योजना आयोगका उपाध्यक्ष ज्यू उहाँले डेडभरिको सांसदहरुको योजनाहरुको विवेचना विश्लेषण गरेर त्यहाँबाट योजनाहरुलाई कार्यान्यन गर्न सरकारलाई लगेर ब्रिफ गर्ने र टेबुल गर्ने कामको कार्यकारी पदमै हुनुहुथ्यो । एउटा सांसदले आफ्नो क्षेत्रगत विकास एजेण्डाहरुका बारेमा संसदमा लगेर ब्रिफ गर्थ्यो र त्यो कार्यकारी पद थियो । योजना आयोगका उपाध्यक्ष ज्यूलाई त्यस्तो कार्यकारीणी पद छोडेर आज संघीय संसदमा लड्न र लडाउन तत्पार्टी र उहाँलाई के मोह जाग्यो, म जान्दिन । उहाँले काम गर्नको लागि योजना आयोगको कार्यकारी पद छदै थियो । कार्यकारी जस्तो पद छोडेर जबकी एउटा सांसदले उहाँलाई विकास एजेण्डाका आयोजनाका बारेमा छलफल गरेर उहाँले क्याबिनेटमा पठाउने अथवा टेबुल गराउने कार्यकारी पद छाडेर उहाँलाई किन लेराइयो र उहाँ किन आउनुभयो ? यो बारेमा जनता जागरुक हुनुहुन्छ । यो मैले उठाएको प्रश्न उहाँहरुलाई गालि गरेको हुँदै होइन । मैले जनताको घरमा उब्जिएको प्रश्न मिडियामार्फत राखिदिएको हुँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जित्ने आधार के भएर तपाईंले प्रश्न गरिरहँदा म तपाईंलाई नै एउटा प्रतिप्रश्न गर्छु । तपाईंको अन्तरमनले तपाईं पनि यो देशको भोटर्स हो । जुन विगत २०४६ सालदेखि आजको दिन ३३ वर्षसम्म तपाईले भोट गर्नुभा’थ्यो अथवा गर्नुभएको थिएन तर तपाईको अभिभावकले पक्ककै भोट गर्नुभयो होला । के ठिक थियो त ? विकसित देशहरुमा भोट चेन्ज हुन्छ । पाँच वर्षमा काम गर्न नसक्नेलाई जनताले भोट चेन्ज गरिदिन्छन् । के हामी युवाहरु यति धेरै चेतनाको विकास भइसक्दा यो बीचमा काम गर्न नसक्नेलाई विश्राम दिऊ भन्ने मानसिकता छैन र ? यो तपाईंको अन्तरमनको कुरा होइन र ? भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले नजित्ने आधार के होला त नि ? एउटा सचेत नागरिक वर्ग, सचेत पत्रकार वर्ग, सचेत देशभक्त वर्ग, सचेत बौद्धिक वर्ग र श्रमजीवी वर्ग जो विकास चाहन्छन्, जो परिवर्तन चाहन्छन् । उहाँहरुले चाहेको परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको छ । विगत ३३ वर्षदेखिको राजनीतिक दलको चरम भ्रष्टाचारमा लिप्त हुँदै ३३ वर्ष देशलाई पछाडि पारेर देशलाई ऋणको भरमा पारेर आम नागरिकको भागमा ७० हजार ऋण थुपारेका कुराहरुमा समाज अपडेट छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हमा मतदान गर्न देशैभरबाट माहोल बनेको छ । क्षेत्र नम्बर एकको पूर्वी चितवनको सन्दर्भमा भन्ने हो भने मैले मेरा प्रतिस्पर्धीलाई अत्यधिक बहुमतले पराजित गराउँदै म विजयी हुन्छु । उहाँहरुको र मेरो मतान्तर धेरै नै ठूलो हुनेछु ।
तपाईँले चितवनको विकास र विस्तारका लागि के–कस्ता चुनावी एजेन्डा अघि सार्नुभएको छ ?
सर्वप्रथम म नीतिगत तहमा नीति बनाउने ठाउँमा निर्वाचित हुँदैछु । अहिलेको राष्ट्रिय समस्या भएको भ्रष्टाचार हो । भ्रष्टाचारमा लिप्त रहेका दल र पदको लभ लिएर भ्रष्टाचार गर्ने गर्ने गरेका र भष्ट्राचारको आरोपमा अख्तियारमा उजुरी परेका ती फाइलहरु टकटक्याउँदै, ती फैनाहरु खोज्दै, ती फाइलहरुलाई फेरि अब संसदमा यो भ्रष्टाचारको मुद्दा के भयो भनेर खबरदारी गर्नेछु । भ्रष्टाचार गर्नेहरुले कानुनहरु एकदमै फितलो बनाएका छन् । यी कानुनहरु संसोधन गरेर कडाभन्दा कडा कानुन ल्याउनको लागि म संसदमा आवाज उठाउनेछु ।
मेरो टार्गेट भनेकै भ्रष्टाचार अन्त्य नै हुन्छ । सुशासनकै लागि हुनेछ । लोकतन्त्रको सुदृढीकरणको लागि हुनेछ । त्यसपछाडि हामीले धेरै पटक सुन्यौं संसदीय गरिमाका कुरा, लोकतन्त्रका कुरा । लोकतन्त्र र संसदीय गरिमाका कुरा गर्नेहरुले संसदमा अनुपस्थित हुने र अनुपस्थित भएका दिनको एकैदिन हाजिरी गरेर भत्ता खाने जुन प्रचलन छ । यसको विरुद्धमा म सशक्त लाग्नेछु । म स्वयम् कुनैपनि भवितव्यबिना संसदमा उनुपस्थिति रहनेछैन । उनुपस्थित रहनुपरेमा आम जनस्तरमा मेरो उनुपस्थितिको कारणबारे जानकारी गराउनेछु । मेरो अभियानले संसदको मर्यादा, गरिमा र एउटा सांसद कस्तो हुनुपर्छ भन्ने कुरा देखाउन ठूलो भूमिका खेल्नेछ ।
आज हामी संसदमा रहने क्षेत्रगत सांसदहरुको निर्वाचित भएर गइसकेपछाडि आफ्नो क्षेत्रगत कार्यालय नै छैन । कुनै क्षेत्रबाट निर्वाचित भयो, काठमाडौं बस्यो, काठमाडौंमै हरायो । चुनावी दौरानमा केही समय भूगोलमा आयो अनि भोट माग्दै हिड्यो । यो हामीले देखे भोगेकै कुरा हो । राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर १ चितवनको उम्मेदवारको एउटा एजेण्डा छ । मेरो क्षेत्रीय कार्यालय म निर्वाचित भएकै ठाउँमा हुनेछ । त्यो कार्यालय १० देखि ५ बजेसम्म खुल्नेछ । मेरो कुनै तामझाम हुने छैन । म सर्वसुलभ जनप्रतिनिधि हुनेछु । संघीय सांसदहरुको क्षेत्रीय कार्यालय हुनुपर्छ भन्ने एजेण्डा नेपालमै पहिलो चोटी देखाएको छु । म निर्वाचित भएको ठाउँमा मेरो क्षेत्रीय कार्यालय हुनेछ । त्यसैगरी, अनामनगर, बानेश्वर, सिंहदरबार वरिपरी मेरो अर्को कार्यालय हुनेछ । जहाँ आम जनता म काठमाडौं रहँदाखेरि मलाई भेट्न आउँदा रस्साकसी गर्न नपरोस् ।
अर्को कुरा चितवनको सन्दर्भमा काठमाडौंको चुल्हो पकाउँने चितवनका किसानहरुले उब्जाउ गरेका सब्जी र यहाँको खाद्यान्नलाई बजारीकरणमा सहजीकरण गर्न भूमिका खेल्नेछु । सरकारले देशभरिका किसानहरुको उपेक्षा गरेको छ । कृषि अनुदानहरुमा व्याप्त भ्रष्टाचार छ । पाँच निकायबाट जाने अनुदानहरु दुरुपयोग भएको छ यसको विरुद्धमा मैले मेरो क्षेत्रको ४२ वटै वडामा कृषि प्रवर्द्धन केन्द्र खोल्ने ड्रिम प्रोजेक्ट छ । ती कृषि प्रवर्द्धन केन्द्रमा मेसिनरी औजार लगायतका सामाग्रीहरु हुनेछन् । आम किसानले त्यसमा इन्धन भरेर उक्त मेसिनरी औजार प्रयोग गर्न पाउनेछन् । वडा कार्यालयले त्यसका आवश्यक ड्राइभरहरु नियुक्त गर्नेछ र फ्युल भरेको आधारमा किसानले उक्त मेसिनरी औजार प्रयोग गर्न पाउनेछन् । यसले किसानको लागत घटाउनेछ । यसले काठमाडौंको सिंहदरबारले चितवन र देशैभरका किसानहरुलाई न्याय गरेको प्रमाण मिल्नेछ ।
मैले पर्यावरणलाई जोडेको छु । चितवनमा राष्ट्रिय निकुन्ज छ । चितवनमा निकुन्ज छ र त चितवन छ । चितवनमा सौराहा छ र त चितवन छ । सौराहा मेरो भूगोलमा पर्छ । निकुन्ज संरक्षणमा जुन किसिमका कदमहरु छन् ती कदमहरुमा दिगो विकासका लक्ष्यमा आधारित भएर निकुञ्ज संरक्षणमा लागिएको देखिएको छैन । यसका लागि मेरो क्षेत्रमा पर्ने पाँचवटा खोलाहरुको मुहानदेखीको संरक्षण अभियान मैले चाल्नेछु । ती मुहानदेखिको संरक्षण अभियानमा ती खोलाका दुवै किनारमा फलफूलजन्य रुख रोप्ने अभियान चल्नेछ । यसका लागि बजेट हुनेछ । यसका प्राथमिकता हुनेछ, क्याम्पेन हुनेछ, श्रमदान हुनेछ ।
शिक्षाको सन्दर्भमा चितवन क्षेत्र नम्बर एकमा एउटा पनि आंगिक क्याम्पस छैन । सरकारी क्याम्पस नहुनाले विद्यार्थीले महंगो शुल्क तिरेर पढ्नुपरेको छ । म आंगिक क्याम्पस ल्याउनको लागि लागि पर्नेछु । मेरो कार्यकालभित्र आंगिक क्याम्पस ल्याउनेछु ।
स्वास्थ्यको सन्दर्भमा यहाँ ३ वटा नगरपालिका छन् । ३ वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा मात्र ५० सैय्याको पपुलर चितवन अस्पताल छ । जसको क्षमता वृद्धि गर्नेपर्नेछ । चितवनमा बसाइसराइ व्याप्त छ । चितवनको आवाजी बढ्दो छ । यसले धान्ने अवस्था छैन । रत्नगर बाहेक राप्ति र खैरेनी नगरपालिकामा पनि उसैगरी ५० वेड शैय्याको अस्पतालहरु तुरुन्तै खोल्नुपर्नेछ । जुन मेरो कार्यकालभित्र खोल्नेछु ।
चितवन आयुर्वेद औषधालयको क्षमता अभिवृद्धि गरेर आयुर्वेद औषधि बनाउनको लागि आवश्यक जडीबुटीहरु पूर्वी चितवनका किसानहरलाई उत्पादन गर्नमा प्रोत्साहन गरिनेछ । उक्त जडिबुटीहरु उक्त आयुर्वेद औषधालयले नै खरिद गर्ने व्यवस्था गरिनेछ ।
खेलकुदको सन्दर्भमा पूर्वी चितवनमा फुटबल र क्रिकेटको हब बनाउन सकिन्छ । त्यसको लागि खेल पर्यटन जोड्न सकिन्छ । हामी सौराहा नजिक छौँ । सौराहा वरिपरी पायक पर्ने ठाउँमा क्रिकेट र फुटबलको उच्च स्तरको मैदान तयार गरेका छौँ । यसलाई आय आर्जनमा जोडनको लागि खेल पर्यटनमा जोड्ने मेरो एजेन्डा छ ।
विशेषगरि रोजगारको सन्दर्भमा सौराहालाई पर्यटनमा जोड्न सक्यौँ भने यहाँबाट धेरै नै रोजगारी सिर्जना गर्न सकिन्छ । हामीले चितवनमा आयुर्वेद औषधालयका लागि यहाँबाट जडिबुटी उत्पादन गर्न सक्यौँ भने यसले रोजगारीको लागि ठुलो सम्भावना बोकेको छ । हामीले एकीकृत रुपमा संगठित कम्पनी मोडलमा गैर लगानीको पातहरु सुनिश्चित गर्न सक्यौँ भने चितवनमा रहेका गैरआवासीय नेपालीहरुले चितवनमा विभिन्न कलकारखाना र उद्योग धन्दा खोल्न सक्ने वातावरण बनाउन सक्यौँ भने रोजगारीको सिर्जना पनि हुनेछ । त्यसको लागि सबैभन्दा पहिला यो देशको नीतिमाथिको वेथिति, चरम भ्रष्टाचार, गैरजिम्मेवारीपनको अन्त्यका लागि हामीले नीतिगत तहमा व्यापक सुधारका लागि आन्दोलन गर्नेछ । जसको लागि हाम्रो पार्टीले नीतिगत नीतिगत तहमा आफूले आफूलाई स्थापित गर्नेछ ।
अन्त्यमा, आफ्नो मतदाताहरु, चितवन क्षेत्र नम्बर एकका बासिन्दालाई के अपिल गर्नुहुन्छ ?
म के भन्छु भने हामी युरोपको कल्पना गर्छौं । विधि, विधान र संविधान मानिएका राज्यको कल्पना गर्छौँ भने विधि विधान संविधान केही पनि नमान्ने, लोकतन्त्रका कुरा गर्ने अनि व्यवहारिक गठबन्धनतिर लाग्ने, सुखी नेपाली र समृद्ध नेपालको कल्पना गर्ने र सुखी र समृद्ध आफू मात्र हुने विगत ३३ वर्ष हामी पूर्वी चितवनबासीले देखिसकेको अवस्थामा म के आह्वान गर्न चाहन्छु भने एक पटक घन्टी चिन्हमा भोट गरिदिनुहोला । मत परिवर्तन गरिदिनु होला । यो मत परिवर्तन गर्ने गर्नको लागि प्रत्येक घरका युवाले आग्रह गरेको छ । कृपया तपाइको आफ्नो छोराछोरीलाई माया गरिदिनुहोला । जब तपाईंले आफ्नो छोराछोरीलाई माया गर्नुहुन्छ अनि बल्ल पूर्वी चितवनले नयाँ सक्षम र जुझारु युवा नेतृत्व पाउँछ । मलाई अमूल्य मत दिएर विजयी गराइदिनु होला ।








