
मौसममा सुधार नआउँदा पूर्वी नवलपरासीका कृषक चिन्तित भएका छन् । गत बुधबारदेखि अविरलरुपमा भएको वर्षा शुक्रवारदेखि रोकिँदा राहत महसुस गरेका कृषकमा आइतवार रातिदेखि वर्षा हुन लागेपछि चिन्ता थपिएको छ ।
जिल्लाको अधिकांश किसानका खेतमा धान पाकेर काट्ने अवस्थामा पुगेको भए पनि मौसममा सुधार नआउँदा समयमै धान भित्र्याउन नपाइने पीरले कृषकलाई सताएको छ । एक बिघा खेतमा धान काट्ने बेला भए पनि मौसममा सुधार आउन नसकेपछि धान काट्न नसकिएको कावासोती– १३ का कृषक चेतनारायण चौधरीले बताए ।
जिल्लाको देवचुली, गैँडाकोट, कावासोतीलगायतका स्थानमा लगातार वर्षाका कारण पाकेको धानका बोट खेतमै ढलेको छ । खेतमा ढलेका धानका बाला बोटमै उम्रने चिन्ताले सताएको देवचुली– १५ का कृषक वसन्त पोख्रेल बताउँछन् । धान पाक्ने बेलामा परेको बेमौसमी वर्षा र त्यसपछिको बाढीले जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाको बगुवन र सिसेनीमा करिब दुई सय ५० बिघा पाक्न लागेको धान डुबाएको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।
यस वर्ष जिल्लामा १८ हजारभन्दा धेरै क्षेत्रमा धानखेती गरिएको भए पनि बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आउनसक्ने प्रमुख लामिछानेले बताए । रासस








