बाँकेमा बाढी तथा डुबानबाट ८ हजार बढी घरधुरी पीडित

207
0
Share:

अविरल वर्षाका कारण बाँकेमा ८ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् ।

जिल्लाका ८ स्थानीय तहका ८ हजार ७०३ घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरूपमा पीडित हुन पुगेका बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा ३ हजार ५००, नरैनापुर गाउँपालिकामा २ हजार ६९६, डुडुवा गाउँपालिकामा १ हजार ९५०, खजुरा गाउँपालिकामा २४९, नेपालगञ्ज उपमहानगरपालिकामा २२०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित भएका छन् ।

बाढी तथा डुबानबाट ८ स्थानीय तहका १८१ घरधुरीमा पूर्ण क्षति र ५९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै १ हजार १४३ घरधुरी विस्थापित हुन पुगेका सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

८ स्थानीय तहका बाढी पीडित ३७ वडाबाट २ हजार १३१ जनाको उद्धार गरिएको छ । राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन् ।

गाउँपालिका–२ टिकुलीपुर गाउँका मात्रै ४५० घरधुरीका मानिस विस्थापित भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिए । बाढी पीडित स्थानीयलाई जनकल्याण सामुदायिक भवनमा राखिएको छ ।

राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्