कलाकारलाई राजनीति मोह,को कहाँबाट उठ्दैछन् ?

185
0
Share:

मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि  प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ चलचित्रवृत्तका केही सिनेकर्मीले पनि उम्मेदवारी दिएका छन् ।

अभिनेत्री रेखा थापाले यसपटक राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)बाट संसदीय निर्वाचनमा उम्मेदवारी दिएकी छिन् । केही वर्ष यताबाट रापपामा रहेर राजनीति गर्दै आएकी अभिनेत्री रेखा थापाले यही पार्टीबाट आइतबार मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

यस्तै, चलचित्र तथा लोकगायिका कोमल वलीले पनि यसपटकको संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकी छन् । नेकपा एमालेबाट गायिका कोमल वलीले यसपटक निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

चलचित्र निर्देशक मनोज पण्डित पनि स्वतन्त्र उम्मेदवार बनेका हुन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आइतबार काभ्रे–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मनोज बामपन्थी विचारधाराका भए पनि पछिल्लो समय स्वतन्त्रको लहर चलेका कारण आफूले पनि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

प्रतिनिधिसभातर्फ सांसदमा स्वतन्त्र उम्मेदवारी दिने कलाकारमा गायक सञ्जय श्रेष्ठ पनि रहेका छन् । उनले आइतबार काठमाडौं क्षेत्र–६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिमा लागेर समाज परिवर्तनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् । उनले तरकेश्वरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, चलचित्र निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ पनि यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका थिए । उनले धादिङको क्षेत्र नम्बर–१ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्