आइतवार फूलपातिको दिन पनि दशैं मान्न गाउँ जानेहरूको भीड लागेको छ। काठमाडौंका विभिन्न नाकाहरूबाट दशैं मान्नका लागि काठमाडौं उपत्यका छाड्नेहरूको भीड लागेको हो ।
थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुहरूको अत्याधिक भीड लागेको छ । सार्वजनिक यातायात र नीजि सवारी साधनहरूको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् । सवारी साधनभित्र यात्रुहरू भरिभराउ देखिन्छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै सवारी साधन चलेका कारण यात्रुहरूले उपत्यका छोड्न मात्रै पनि घण्टौँ जामको समस्या भोग्नु परेको छ ।
दैनिक हजारौँको संख्यामा मानिसहरूले काठमाडौं उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष उपत्यका छाड्नेहरूको संख्या बढेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । अघिल्ला वर्षहरूमा कोरोना महामारीका कारण मानिसहरूको आवतजावतमा समस्या भए पनि यस वर्ष भने निर्वाध रुपमा मानिसहरू आवतजावत गरिरहेका छन् । यात्रुहरूले टिकट नपाउने समस्या भोग्नु परेको गुनासो गरेका छन् ।