
नेपाल धितोपत्र बोर्डले तत्काल ब्रोकर लाइसेन्स बाँड्न नपाउने भएको छ । नयाँ ब्रोकरका लागि आवेदन माग गर्ने तयारी हुन लागेको बेला अब फेरि याे प्रक्रिया ३ वर्ष पछाडि धकेलिएकाे छ ।
मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (चौथो संशोधन) नियमावली, २०७९ अनुसार नियमावली प्रारम्भ भएको तीन बर्षपछि बजारको आवश्यकताअनुसार नयाँ धितोपत्र व्यवसायीको लागि आवेदन खुला गर्ने र त्यसको लागि ३० दिनको अवधि दिने उल्लेख छ।
त्यस्तै नियमावलीमा तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गर्दै न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँ पुर्याईएको छ। नियमावली अनुसार अब ब्रोकरको ३ तह रहने छ । जसमा सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर रहेका छन्।
जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र स्टक डिलरको चिक्त पुँजी डेढ अर्ब तोकिएको छ । यद्दपि यसका लागि हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई निर्धारित पुँजीको सिलिङ पुर्याउन २०८२ सालसम्मको समय पनि दिईएको छ।
योग्यता निर्धारण
मन्त्रिपरिषदद्वारा संशोधित नियमावलीमा अध्यक्ष, संचालक र कार्यकारी प्रमुखको योग्यता तोकिएको छ । अब ब्रोकर कम्पनीको अध्यक्ष र कार्यकारी प्रमुख बन्नको लागि कम्तिमा स्नातकोत्तर वा सीए उतिर्ण गरेको हुनुपर्ने छ।
जस अनुसार अब ब्रोकर कम्पनीको संचालक समितिको अध्यक्ष र कार्यकारी प्रमुखको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, लेखा, व्यवस्थापन, कानून वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी धितोपत्र बजार वा वित्तीय क्षेत्र वा वित्त व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा पाँच वर्ष कार्य गरेको अनुभव भएको भएको हुनु पर्ने छ । यस अघि स्नातक गरेको र २ माथि उल्लेखित क्षेत्रमा २ वर्षको अनुभव भएको हुनु पर्ने ब्यबस्था थियो। अब भने स्नातकोत्तर गरेको र ५ वर्षको अनुभव भएको हुनु पर्ने ब्यबस्था गरिएको हो ।
संचालकहरुको हकमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष कार्य गरेको अनुभव भएको हुनु पर्ने ब्यबस्था गरिएको छ। संचालकहरुको लागि यस अघि २ वर्षको अनुभव भए हुनेमा अब ५ वर्षको अनुभव राखिएको छ ।
तर यो नियमावली प्रारम्भ हुँदाका बखत अनुमति प्राप्त गरी सञ्चालनमा रहेका धितोपत्र दलाल तथा धितोपात्र व्यापारीको सञ्चालक समितिको अध्यक्ष कार्यकारी प्रमुख वा सञ्चालकले हालको पदको पदावधि बाँकी भएसम्म यथावत कारण गर्न बाधा नपर्ने उल्लेख छ । सो पदमा नयाँ नियुक्ति वा मनोनयन गर्दा भने नियम लागू हुनेछ ।

arthasanjal.com/wp-content/uploads/2022/09/brokerLicense1-768×391.jpg 768w, 






