
पछिल्लो समय सहकारी संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । एक सातादेखि सहकारी संस्थाहरुमा मर्जरको लहर नै चलेको छ । एक सातामा उपत्यकाका थप २० सहकारीले एकीकरण (मर्जर तथा प्राप्ति) का लागि सम्झौता गरिसकेका छन् ।
सहकारी संस्थाहरुमा आर्थिक मन्दी, तरलता अभावलगायतको कारण सञ्चालनमै समस्या देखिन थालेको छ । यससँगै सहकारी संस्थाहरु धमाधम मर्जरमा जान थालेका हुन् । संख्यात्मक वृद्धिले बढाएको अस्वस्थ प्रतिस्पर्धाकाबीच सहकारी संस्थाहरू एकआपसमा एकीकरणमा जान थालेका हुन् ।
सहकारीबीच मर्जरको लहर
भदौयता मात्रै २५ वटा सहकारीले एकीकरण सम्झौता गरिसकेका छन् । गत शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरे ।
काठमाडौंको न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुस्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वरस्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकीस्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसारस्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्थाले एकीकरण सम्झौता गरेका हुन् । एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ ।
त्यसैगरी, शुक्रबार उपत्यकाभित्रका ९ वटा सहकारी संस्थाले एकीकरणको सम्झौता गरे । कुलेश्वरको शुभलाभ बचत तथा ऋण सहकारी संस्था, न्यूरोडको जीवनदीप साकोस, कोटेश्वरको सदस्य सेवा साकोस, भोटाहिटीको शुभरत्न साकोस, चावहिलको एभरट्रष्ट साकोस, चावहिलको सर्वोच्च सम्वृद्धि साकोस, न्यूरोडको अष्ट साकोस, न्यूरोडको हाम्रो सेवा बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जिल्लाको कुमारीपाटीस्थित गंगाजल बहुउद्देश्यीय सहकारी संस्थाले एकीकरणको सम्झौता गरे ।
न्यूरोडमा प्रधान कार्यालय रहनेगरी शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट कारोबार गर्नेगरी उक्त सहकारीबीच सम्झौता भयो ।
यसअघि गत भदौ ११ गते काठमाडौंका ५ ओटा सहकारीले पनि मर्जर सम्झौता गरेका थिए । आइडल यमुना बहुद्देश्यीय, नेशनल नमोबुद्ध बचत तथा ऋण, नागरिक कल्याण बहुद्देश्यीय, सत्कार बचत तथा ऋण र घेदुङ बहुद्देश्यीबीच एकीकरण सम्झौता भएको थियो । एकीकरणपछि संस्थाको नाम नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था बन्ने भएको छ ।
सहकारी संस्था समस्याग्रत बनेकै हो त ?
पछिल्लो समय एकपछि अर्को सहकारी संस्थाहरु समस्याग्रत बन्दै गइरहेका छन् । ठगिएको उजुरी लिएर सहकारी विभाग धाउनेको संख्याले यसलाई पुष्टि गर्छ । सहकारीहरु समस्याग्रत बनेर सञ्चालकहरू फरार भएको समाचार बेलाबेलामा आउने गरेको छ । पछिल्लो उदाहरण हो, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यी सहकारी संस्था । संस्थाले बचत रकम फिर्ता नदिएको र सञ्चालक, कर्मचारी सम्पर्कविहीन भएको भन्दै एक हजारभन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए ।
यद्यपी सहकारीका अध्यक्ष रामबहादुर गौतमले बचकर्ताको रकम फिर्ता गरेर सहकारी चलाउने भन्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । उनको दाबीको वास्तविकताबारे छानबिन गर्न मन्त्रालयले तीन सदस्यीय समिति बनाएर छानबिन गरिरहेको छ ।
तर सहकारीहरु समस्याग्रस्त नभएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती दाबी गर्छन् । पछिल्लो समय सहकारी संस्थाहरुमा तरलताको अभाव भने देखिएको, त्यो पनि बैंक तथा वित्तीय संस्थाहरुका कारण उत्पन्न भएको उनको भनाइ छ । ‘सहकारी संस्थाहरु समस्या ग्रस्त छैन’, उनी भन्छन्, ‘अलिअलि तरलताको अभाव देखिएको छ । विस्तारै विस्तारै त्यो समस्याको समाधान हुँदै गएको छ । तरलता अभाव बैंक तथा वित्तीय संस्थाहरुका कारण उत्पन्न भएको हो ।’
जुनसुकै बैंक वित्तीय सहकारी संस्थामा पनि अधिकतम २० प्रतिशत हुन्छ । २० प्रतिशतभन्दा बढीले रकम फिर्ता लिन आएको खण्डमा दिन नसकिने उनले बताए । पछिल्लो समय सञ्चारमाध्यममा आएको हल्लाले सदस्यहरु त्रसित हुँदा सहकारीबाट रकम झिक्ने क्रम बढेको उनले सुनाए ।
मर्जर आवश्यकता कि बाध्यता ?
बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने तथा एक्वीजेसन गर्ने क्रम बढिरहेको अवस्थामा पछिल्लो समय सहकारीमा पनि मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान राष्ट्र बैंकको दबाबसँगै अधिकांश बैंक तथा वित्तीय संस्था मर्जरमा जाने क्रम बढेको हो । राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई विभिन्न सहुलियत र छुटको घोषणा समेत गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुपछि अहिले सहकारीमा पनि मर्जरको लहर चलेको हो । सहकारी संस्थाहरुबीच एकीकरण आवश्यकता पहिला नै रहेको उप्रेती बताउँछन् । अहिले विश्वास आर्जन गर्नका लागि र तरलताका माध्यम बनाउनका लागि एकीकरणको अभियान अगाडि बढेको उनी बताउँछन् । प्रतिस्पर्धात्मक अहिलेको बजारमा एकीकरणको आवश्यकता रहेको हुनले बताए ।
प्रोत्साहन गर्न आवश्यक
सहकारी संस्थाहरुलाई मर्जरमा लैजान प्रोत्साहनको आवश्यकता रहेको अध्यक्ष उप्रतीको ठहर छ । सहकारी विभागले सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ पनि जारी गरेको छ । तर एकीकरणमा जाने संस्थाहरु का लागि कुनै छुट सुविधा भने ल्याएको छैन ।
सहकारी संस्थाहरुलाई मर्जरमा जाने बाध्यता र छुट सुविधा पनि नभएको उप्रेती बताउँछन् । सहकारी संस्थाहरुको कार्यक्षेत्र वृद्धि गरिदिने, व्यवसायिक कर छुट दिनको लागि स्थानीय तहलाई निर्देशन दिने, अनुदानको व्यवस्था गरिदिने, प्रविधिलाई अगाडी बढाउने हो भने सहकारी संस्थाहरुको एकीकरण व्यापक रुपमा अगाडी बढ्ने उनले बताए ।
समस्या लुकाउने नियतले नगाभिन विभागको निर्देशन
सहकारी संस्थाहरुबीच एकीकरण सम्झौताको लहर चलेपछि संघीय सहकारी विभागले एकीकरण प्रकिया प्रचलित कानुनभित्र रहेर पूरा गर्न ध्यानाकर्षण गराएको छ । सहकारी ऐन र नियमावलीले तोकेको मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र आपसमा एकीकरण (मर्जर तथा एक्विजिसन) गर्न सहकारी विभागले सहकारी संघसंस्थालाई निर्देशन दिएको हो ।
सहकारी संघ संस्थाहरु एकीकरण भएपछि गठन हुने संचालक समिति र लेखा समितिलाई सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार समावेशी बनाउन विभागले निर्देशन दिएको छ । साथै सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ बमोजिम तदर्थ समिति गठन गरेको मितिले तीन दिनभित्र सम्बन्धित नियामक निकायमा जानकारी पठाउन भनेको छ ।
विभागले सहकारी संस्था एकीकरण गर्दा एकै प्रकृति वा विषयका हुनुपर्ने, फरक विषयका भएपनि एउटै विषयमा प्रतिस्पर्धा भएको हुनुपर्ने, कार्यक्षेत्र खप्टिएको वा जोडिएको हुनुपर्ने, सदस्यबाट एकीकरणको माग भएको वा संस्थाको संयुक्त बैठकले एकीकरण सम्बन्धी निर्णय गरेको हुनुपर्ने लगायतको कानुनी प्रकृया तथा मापदण्ड स्मरण गराएको छ ।
विभागबाट पूर्वस्वीकृति पाएपछि एकीकरणसम्बन्धी गुनासो उजुरी माग गरी १५ दिने सूचना प्रकाशन गर्नुपर्ने, एक जिल्लाभन्दा बढीमा कार्यक्षेत्र भए राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने, विभाग, जिल्ला सहकारी संघ, विषयगत सहकारी संघ र संस्थाको सूचना पार्टीमा सूचना टाँस्नुपर्ने निर्देशन पनि विभागको छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/sahakari-1024×582.jpg 1024w, 






