
उत्तरी नाइजेरियाली सहर कानोस्थित एउटा प्राथमिक विद्यालयका मालिक र उनका साथीलाई पाँच वर्षीया विद्यार्थीलाई अपहरण पछि हत्या गरेको आरोपमा त्यहाँको उच्च अदालतले मृत्युदण्ड सुनाएको छ ।
यस अपराधमा दोषी ठहर भएका अब्दुल मलिक तान्को र उनका साथी हासिमु इसियाकुलाई फाँसी दिन अदालतले आदेश दिएको छ । अपहरण कार्यमा सहयोग गरेको अभियोगमा तान्कोकी पूर्वप्रेमिकालाई दुई वर्ष लामो कारावास सजाय सुनाइएको छ ।
सजाय सुनाइँदा अभियुक्तहरूले अपराध स्वीकार्दै ‘दया गर्न’ अनुरोध गरेका थिए । नाइजेरियामा मृत्युदण्ड बिरलै कार्यान्वयन हुने गर्दछ । यस्तो सजाय पाउनेहरूले प्रायः अनिश्चितकालीन कैद सजाय भोग्ने गरेका छन् ।
ती दुईले सन् २०२१ को डिसेम्बरमा हानिफा अब्दुकार नामक ती बालिकाको अपहरण गरेका थिए । यसै वर्षको जनवरीमा ती बालिकाको शव फेला परेको थियो ।
यस अपहरण तथा हत्याकाण्डको कारण नाइजेरियामा ठूलो जन आक्रोश फैलिएको थियो । सोही विद्यालयका प्रधानाध्यापक समेत रहेका तान्कोले पीडित बालिकाका अभिभावकसँग १४ हजार ६ सय अमेरिकी डलर फिरौती रकम मागेका थिए ।
प्रहरीले पक्राउ गरेपछि उनीहरूले बालिकालाई गाडेको स्थान देखाएका थिए । केही वर्षयता नाइजेरियामा सशस्त्र समूहहरूले विद्यार्थीहरूको अपहरण गरेका घटनाहरू सार्वजनिक हुँदै आएका छन् ।

arthasanjal.com/wp-content/uploads/2022/07/giri-1024×559.webp 1024w, 





