नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धीत शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीले साउन ८ गते उक्त बोनस शेयर सूचीकृत गराएको थियो । अघिल्लो आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफबाट कम्पनीले ११ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजारको आधारमा लाभांश वितरण गरेको हो । बोनस पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार कायम भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले जेठ १६ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।
जेठ १६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई बोनस शेयर हितग्राही खातामा जम्मा गरेको जानकारी कम्पनीले दिएको छ । यसर्थ कर्जा राफसाफ भैसकेको अवस्थामा फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।