दैलेखका दुई पालिकामा करारका कर्मचारीले ताला लगाएका छन् । ५ दिनयता आन्दोलनरत कर्मचारीले डुगेश्वर र गुराँस पालिकाका विभिन्न शाखामा ताला लगाएका हुन् ।
गुराँस गाउँपालिकामा करारका कर्मचारीको म्याद थप नगर्ने विषयमा शनिबार आन्दोलनमा उत्रिँदा प्रहरीले हवाई फायर गरेको थियो । प्रहरी र कर्मचारीबीच झडप हुँदा कर्मचारी र प्रहरीसहित १ दर्जन घाइते भएका थिए । झडपमा घाइते प्रहरी र कर्मचारीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, सोमबारयता डुगेश्वर गाउँपालिकामा पनि ताला लागेको छ । कर्मचारी हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । गाउँपालिकामा करारमा कार्यरत कर्मचारीले करार सम्झौताको म्याद थप नगरेको भन्दै आन्दोलनमा उत्रिएका थिए । गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उनीहरुले गाउँपालिकाको कार्यालयमा ताला बन्द गरेका हुन् ।
उपाध्यक्ष कलावती न्यौपानेले ज्ञापनपत्र बुझिसकेपछि आफूलाई कार्यकक्षमै थुनेको बताइन् ।
असार ३० गते बसेको कार्यपालिका बैठकबाट करारका कर्मचारीको म्याद नथप्ने निर्णय भएको थियो । पालिकाको रकममा अन्य निकायमा काम गर्ने सबै कार्यालय सहयोगीहरुको म्याद नथपेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।
गुराँस गाउँपालिकाका पूर्वअध्यक्ष खेमराज वलीले जिल्ला पालिकाका विभिन्न क्षेत्रमा कार्यरत ३ सय जना करारका कर्मचारीको रोजगारी एकैपटक खोसिएको बताए । उनले विगतका वर्षमा पालिकाले संघीय राजस्व शीर्षकबाट तलब दिन पुगेको थियो ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सामान्य प्रशासन मन्त्रालयले तोकेको कार्यसम्पादन हेरेर पुन: सम्झौता गर्न निर्देशन दिएपनि स्थानीय सरकारले बेतास्था गरेको बताए ।