नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाएर छाड्न चाहेको बताएका छन् ।
शनिबार पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् । ‘म पार्टी बलियो बनाएर छाड्न चाहन्छु । पार्टी बलियो बनाएर म रिटायर्ड हुने हो,’ देउवाले केन्द्रीय समिति बैठकमा भने ।
कुनै बेला आफूलाई पार्टीको सदस्यबाट निकालेकाले मात्र आफूले अर्को दल गठन गरेको उनको भनाइ थियो । उनले शेखर कोइराला समूहलाई पनि साथमै लिएर जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
‘मलाई कुनै बेला पार्टीबाट साधारण सदस्यबाट निकालेको हो । त्यसकारण अप्रिय कदम चाल्न परो । अहिले त्यो अवस्था छैन । मेरो चाहना कांग्रेसलाई पहिलो र प्रिय बनाएर छाड्ने हो । म शेखरलाई पनि साथी लिएर जान्छु ।’
गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने उनको धारणा छ । ‘प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,’ उनले भने, ‘माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन ।’
कांग्रेस एक्लै चुनावमा गए पनि जित्न गाह्रो भएको उनको भनाइ थियो । ‘हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ,’ आफू पार्टीमा जस्तोसुकै छलफल गर्न पनि तयार भएको समेत बताउँदै भने, ‘मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु । मैले कहिल्यै पार्टी प्यालेसमा किन भेला गरेको भनेर सोधेको छैन ? अबदेखि चाहिँ यहीँ गर्नुस् भनेको हुँ ।’