
स्वतन्त्र भएपछि पहिलोपटक श्रीलंका टाट पल्टिएर संकटमा फसेको छ। देशका राष्ट्रपति मुलुक छोडेर भागेका छन्, इन्धनको अभाव छ, औषधि किन्न पाइँदैन र खाद्यन्नको पनि संकट भएको छ ।
श्रीलंकापछि विभिन्न १२ देश यो संकटको सन्निकट रहेको एक रिपोर्ट अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको छ ।
रोयटर्सका अनुसार म्यानमार, पाकिस्तान, अर्जेन्टिना, युक्रेन, ट्युनिसिया, घाना, इजिप्ट, केन्या, इथोपिया, एलसाल्भाडोर, बेलारुस, इक्वेडर र नाइजेरिया अहिले संकटसँग जुधिरहेका छन् ।
म्यानमारको केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वैदेशिक ऋण चुक्ताको समय निलम्बन गरेर वैदेशिक मुद्रा सञ्चिति बढाउने उपाय अपनाएको छ। म्यानमारको स्थानीय मुद्रा क्याट अमेरिकी डलरको तुलनामा निकै अवमूल्यन भएपछि महंगी पनि बढेको छ ।
अहिले नै टाट पल्टिने अवस्थामा नपुगे पनि वैदेशिक मुद्रा भण्डारण नबढे म्यानमार पनि संकटमा फस्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिण एसियाली मुलुक पाकिस्तान पनि वैदेशिक मुद्रा भण्डारणमा निकै चाप बढेको छ । अहिले पाकिस्तानसँग पाँच हप्ताका लागि मात्र वस्तु तथा सेवा खरिद गर्न सकिने वैदेशिक मुद्रा रहेको बताइएको छ। पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋण लिनका लागि लगातार वार्ता गरिरहेको छ ।
आईएमएफले पाकिस्तानमा ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण पाकिस्तानको वैदेशिक मुद्रा सञ्चितिमा दबाब परिरहेको छ ।
उता अर्जेन्टिनाको मुद्रा पेसो पचार प्रतिशतमा कालो बजारमा खरिदविक्री भइरहेको छ । यहाँ पनि वैदेशिक मुद्रा सञ्चितिमा निकै गम्भीर असर परेको छ । अर्जेन्टिना यसअघि पनि आर्थिक रुपमा टाट पल्टिसकेको छ।
उता रुससँगको युद्धमा फसेको युक्रेन पनि टाट पल्टिने अवस्थामा पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेयता उसको वैदेशिक व्यापार ठप्प मात्र भएको छैन, देशमा आर्थिक गतिविधि नै बन्द भएका छन् । युक्रेनले पनि वैदेशिक ऋण तिर्न सक्ने क्षमता गुमाउँदै गएको विज्ञहरुले चेतावनी दिएका छन् । एक सरकारी युक्रेनी कम्पनीले वैदेशिक ऋण तिर्ने भाका दुई वर्ष बढाउन माग गरेको छ ।
उता अफ्रिकी मुलुक ट्युनिसिया टाट पल्टिने जोखिम सूचीको तेस्रो नम्बरमा रहेको छ । उसले आईएमएफसँग ऋण मागिरहेको छ। तर, घरेलु राजनीतिक अवस्थाका कारण उसलाई ऋण उपलब्ध हुन पनि समस्या छ ।
आईएमएफका सर्त पूरा गरेर ट्युनिसियाले ऋण पाउन कठिन छ। अन्य अफ्रिकी मुलुक घाना, इजिप्ट, केन्या र नाइजेरिया पनि आर्थिक संकटसँग जुधिरहेका छन् ।