
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले श्रीलंकामा जारी विपत्तिमा आफूहरुले थुप्रै सहयोग गरेको बताएका छन् । यसअघि पनि छिमेकी मुलुक श्रीलंकालाई आफूहरुले धेरै सहयोग गरेको र अझै सक्दो सहयोग गर्ने प्रयास गरिरहेका उनले बताएका छन् ।
तीन दिने भ्रमणमा केरलाको तिरुवनन्तपुरम विमानस्थलबाहिर पत्रकारहरूसँग कुरा गर्दै जयशंकरले श्रीलंकाका नागरिकहरुको चिन्तामा भारत रहेको बताए । उनले अहिले अहिलेसम्म शरणार्थीसँग सम्बन्धित कुनै समस्या नरहेको भन्दै शरणार्थीहरूको बारेमा चिन्ता लिनु नपर्ने बताए ।
दक्षिणी राज्यमा भाजपाको सम्भावनालाई बुझ्न केरलाको तिरुवनन्तपुरम पुगेका उनले देशभर पार्टीको सम्भावना धेरै राम्रो रहेको बताएका थिए ।
कांग्रेस अध्यक्ष सोनिया गान्धीले श्रीलंका संकटलाई टार्न भारतले अझ थप सहयोग गर्नुपर्ने बताएकी छन् । एक वक्तव्य जारी गर्दै उनले भनेकी छन्, ‘यस गम्भीर संकटको घडीमा कांग्रेस श्रीलंका र त्यहाँका जनताको साथमा छ ।’
श्रीलंकामा चर्को आर्थिक संकटका कारण आक्रोशित प्रदर्शनकारीहरू हिंसात्मक बनेका छन् । श्रीलंकामा चर्को आर्थिक संकटबाट त्रसित प्रदर्शनकारीको प्रदर्शन उग्र बन्दै गएको छ । सबै आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।