कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/IMG_2021-04-15_22-02-44__01-1-768×646.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/IMG_2021-04-15_22-02-44__01-1.jpg 963w” sizes=”(max-width: 357px) 100vw, 357px” />

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार रेनुका १० हप्ता चोटबाट बाहिर रहने जानकारी गराएको हो ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दौरान रेनुकालाई चोट लागेको थियो । १९औं एसियन गेम्सको लागि प्रशिक्षणमा रहेकी रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएपछि ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

रेनुका १० हप्ता मैदान बाहिर रहेसँगै लगातार दोस्रो पटक घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप गुमाउने सम्भावना रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।

‘६–७ हप्ता मैदान बाहिर भनेको भए पनि उसले खेल्न गाह्रो नै हुन्थ्यो । शारीरिक व्यायामदेखि लिएर खेल्न डर, त्रासदेखि सबै कुरा हुन्छ,’ महर्जनले भने ।

रेनुकाले चोट बोकेसँगै अनुभवी खेलाडी गुमाउँदा टिमलाई समस्या हुने र प्रतियोगिताका लागि अझै समय बाँकी रहेका कारण अन्य खेलाडीलाई तयारी गर्ने महर्जनले बताए ।

‘रेनुकाको स्थानमा भएका खेलाडीलाई प्रयोग गर्नेछौं । राम्रो खेलाडीलाई गुमाएका छौ । उसको ठाउँमा अरु खेलाडीहरु छन् । तर, रेनुका जत्तिको राम्रो छैन । अझै समय छ । राम्रो खेलाडी ल्याउने कोसिस गर्छौ । तयारी नै मुख्य कुरा हो’, पहिलो पटक महिला टोलीको प्रशिक्षण सम्हालेका महर्जनले भने ।

अघिल्लो साता दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा सञ्चालन हुने निर्णय गरेको थियो ।

यस अघि २०७५ सालमा नेपालमै साफ च्याम्पियनसिप आयोजना भएको थियो । विराटनगर स्थित शहीद रंगशालामा भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

कमेन्ट गर्नुहोस्