नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा पार्टीले अहिलसम्म छलफल नै नगरेको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए । ६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने बताए ।
दुई महिना मन्त्रालयकाबारेमा बुझ्न नै समय लाग्छ, अर्काे दुई महिना एजेण्डा बनाउन नै समय लाग्छ,’ उनले भने, ६/६ महिनामा मन्त्री फेर्दा काम गर्न पाउँदैनन् । यसर्थ निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्छ ।’
मन्त्री फेर्र्ने परिपाटीले जनतामा राम्रो सन्देश नजाने र जनताको काम पनि नहुने उनको भनाइ छ । आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताउँदै उनले आपसी असमझदारी र कमिकमजोरी सच्याउँँदै उम्मेदवारको टुंगो लगाउने जानकारी दिए ।