
उनीहरूले नेपालको सार्वजनिक यातायातलाई चलायमान बनाउन उपयुक्त आयात नीति, सन्चालन विधि, समयानूकुल विधिको प्रयोग गरी मर्यादित तथा यात्रुमैत्री बनाउन आग्रह गरे । गाडीमा बढाउन लागेको करको दरलाई परिमार्जन गर्न व्यवसायीको माग छ । ‘एकातर्फ पेट्रोलियम पदार्थलगायत मेसिनरी पार्ट्स पुर्जामा अत्यधिक मूल्यवृद्धि भएको छ । सडकको अवस्था जिर्ण बन्दै गएको छ,’ उनीहरूले विज्ञप्तीमार्फत भने, ‘बैंकहरूले आफूखुसी ब्याज बढाउँदै लगेका छन् । प्रदेश सरकारले आफूखुशी करको दायरा निर्धारण गर्दा यातायात व्यवसायीको घरजग्गा नै लिलाम हुने अवस्था आयो ।’
व्यवसाय जोखिममा पर्न नदिन करको दरलाई पुनरावलोकन गर्न व्यवसायीको माग छ । प्रदेश सरकारको अपेक्षासहित बामे सर्ने प्रयासमा रहेको यातायात क्षेत्रलाई प्रदेश सरकारले हचुवाको भरमा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको प्रदेश संयोजक केदारप्रसा पौडेलले बताए । करको दर नघटाए जुनसुकै कदम चाल्न पनि तयार हुने उनकाे चेतावनी छ । यसअघि गाडीको कर घटाउन र प्रत्येक ६ महिनामा नवीकरण अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध कांग्रेसका ११ वटै जिल्ला सभापतिले संयुक्त विज्ञप्ती निकालेर विरोध जनाएका छन् ।