भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि दुई अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले बजेट पेश गरेका हुन् ।
नगरपालिकाले शिक्षा र संस्कृतिलाई प्राथमिकता दिँदै ती क्षेत्रका लागि ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३) प्रतिशत बजेट विनियोजन गरेको छ ।
नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि अनुदानबापत ८ करोड, वडा–वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार विनियोजन गरिएको छ । नगरपालिकाभित्रका सम्पदा संरक्षणमा ९ करोड विनियोजन गरिएको छ ।
भौतिक पूवार्धार निर्माणका लागि ३९ करोड ४८ लाख विनियोजन गरिएको छ। फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा १३ करोड ५० लाख विनियोजन गरिएको छ ।
युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार विनियोजन गरिएको छ भने कृषि एवम् बीउबिजनका लागि २ करोड ७ लाख छुट्याइएको छ ।