
नेकपा एकीकृत समाजवादीले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकले मन्त्री परिवर्तनको निर्णय तुरुन्त कार्यान्वयन गराउन समेत ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।
हामीले मन्त्रिमण्डलमा हामीले हाम्रो टीमलाई बदल्ने भनेर निर्णय गरेका छौँ । तर, सरकारले अहिलसम्म हाम्रो निर्णय किन कार्यान्वयन गरेन ? तुरुन्त कार्यान्वयन गर्नुपर्यो भनेर हामीले त्यो पनि निर्णय गरेका छौँ, उनले भने ।
त्यस्तै बैठकमा पोलिटब्यरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकको तयारीका बारेमा पनि छलफल भएको खनालले बताए । सत्ता गठबन्धनको बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष माधव नेपालले उक्त विषय उठाउने जानकारी दिए।
एकीकृत समाजवादीले १७ दिनअघि मन्त्रीमण्डल हेरफेरको निर्णय गरेको थियो । बजेटमाथि छलफल भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले निर्णय कार्यान्वयन गर्न इन्कार गरेका थिए ।