
पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप अमेरिकाबाट आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।
परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । बागमती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आइतबार नै पठाइने जनाइएको छ ।
यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।