गौतम पशुपंक्षी पालन फार्ममार्फत उनले कालिज पालन गरेकी हुन् । उनी भन्छिन,‘ ५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरेकी छु । हामीले कालिज मात्र पालेका छैनौँ , कालिजका चल्लासमेत उत्पादन गरेका छौँ ।’
गत १५ माघबाट सूरु गरेको कालिज पालन व्यवसाय अहिले १५ सय बढी चल्ला उत्पादन भइसकेका छन् । पुर्व उपाध्यक्ष गंगा देवी उपाध्यायले भनिन,‘जुम्लामा कालिजपालनको राम्रो सम्भावना छ ।’ उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालिएको हो ।
‘१५ सय चल्ला उत्पादन भइसकेका छन् । केही दिनमा ५०० बढी उत्पादन हुने तयारी छ,’ उनले भने, ‘यहाँ उत्पादन भएका कालिजका चल्ला एक जोडाको पाँच सयदेखि एक हजार दुईसम्म पर्ने गरेको छ ।
बत्ती नहुँदा व्यवसायमा समस्या भएकाे बताएकी गंगादेवी जेनेरेटर चलाउनु पर्ने बाध्य रहेकाे जानकारी दिइन् । उनले कालिजसँगै कुखुरा र हाँस पनि पालेकी छन् । ‘५० लाखको लगानी गरेर कालिजपालन गरेकी हुँ । कालिजपालनसँगै कुखुरा र हाँस पनि पालेकी छु,’ गंगादेवीले भनिन् ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोबिन्द बहादुर महतले उपाध्यायको कालिज फर्मको अनुगमन गरेका छन् । उनले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने व्यवसाय यो पहिलो भएको बताए । उनले कालिज उत्पादनलाई जुम्लाको ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्ने बताए । यसका लागि आवश्यक पर्ने बजारीकरण र औषधि लगायतमा कार्यालयको सहयोग रहने उनले बताए ।