
अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ ।
आज अन्पूर्ण पोस्टमा प्रकाशित ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।
मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्क भन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ ।
राजीनामा दबाब खेपिरहेका अर्थमन्त्री शर्माको निर्देशनमा नै यो विज्ञप्ति जारी भएको हो । तर, अर्थमन्त्रीले बदमासी गरेको विषय घामझैँ छर्लङ्ग भइसकेपछि अब उनलाई जोगाउन नसकिने अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा छन् ।
प्रधानमन्त्रीले यसबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुरा गरिसकेको र प्रचण्डले पनि शर्मालाई राजीनामा दिन सुझाएको खबर छ ।
शर्माले राजीनामा नगरे बर्खास्त गर्नेसम्मको कठोर कदम चाल्ने तयारी प्रधानमन्त्रीको रहेको छ ।