काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । प्रमुख शाहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिए ।
चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए ।
नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख शाहले बताए । विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताए । बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख शाहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए ।
समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनले बताए । शाहले भने, ‘साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ ।’